विराटनगर । विराटनगरबाट काठमाडौँका लागि उडेको सौर्य एयरलाइन्सको जहाजबाट बरामद भएको स्रोत नखुलेको ५० लाख रूपैयाँ एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलको आफ्नो भएको बयान दिएका छन् ।
कम्पनीका दुई कर्मचारी समातिएपछि एयरलाइन्सका अध्यक्ष एवं सुपारी व्यवसायी पोखरेलले उक्त रकम आफ्नो भएको भन्दै कर्मचारीलाई छोड्न राजस्व अनुसन्धानमा लिखित निवेदन दिएका हुन् । विराटनगरबाट काठमाडौँ गएको सौर्य एयरलाइन्समा चाउचाउको कार्टुनभित्र ५० लाख रूपैयाँ बरामद भएको थियो ।
उक्त रकम कसको भन्ने नखुलेपछि प्रहरीले सोही एयरलाइन्समा कार्यरत रेशा शाक्य पोखरेल र एयरलाइन्सको विराटनगर स्टेसन म्यानेजर प्रकाश पौडेललाई पक्राउ गरेको थियो । सोही पत्रका कारण राजस्व अनुसन्धानले दीपक पोखरेलको गत बिहीबार बयान समेत लिएको छ । सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले राजस्व अनअनुसन्धानमा बयान दिएपछि नयाँ–नयाँ रहस्य खुलेका हुन् ।
स्रोतका अनुसार पोखरलेलाई पठाइएको उक्त रकम झापाका सुपारी व्यवसायी प्रदिप मित्तलले विराटनगरका सुपारी व्यवसायी प्रदिप मुरारकालाई पठाएका थिए । झापाका सुपारी ब्यवसायी मित्तलले ३६ लाख तत्काल उपलब्ध गराएको र वाँकी पैसा बेलुकासम्म विराटनगरमा दिने भन्ने सहमतिपछि विराटनगरका अर्का सुपारी व्यवसायी दिनेश राठीले तत्काल ५० लाख जम्मा गरेर पोखरेललाई काठमाडौँ पठाएको स्रोतको दाबी छ ।
झापाका सुपारी व्यवसायीलाई पनि भारतको सिलीगुडीका सुपारी व्यवसायी नारायण अग्रवालले सोही दिन साँझसम्ममा एक करोड दिने सहमतिपछि उक्त ५० लाख काठमाडौँ पठाएका हुन् । राजस्वस्रोतले दिएको जानकारीअनुसार दिपक पोखरेल २०४९ मा झापाको चन्द्रगढीस्थित जिल्ला प्रशासन कार्यालयमा मुखिया पदमा कार्यरत कर्मचारी थिए । उनीपछि फाइल बढुवा भएर खरदारसम्मको भएको स्रोतको दाबी छ । पोखरेल सरकारी जागिर छाडेपछि विमान सञ्चालक र भद्रपुरको पाथीभरा अस्पतालका सञ्चालक बनेका हुन् । पछिल्लो समय उनले आर्थिक हैसियत बलियो बनाएपछि सुपारी कारोबारमा लोगको स्रोतको दाबी छ ।
स्रोतका अनुसार नेपाली सुपारी व्यापारीले इन्डोनेसियाबाट आयात गरिएको सुपारी भारततिर संगठित रूपमा तस्करी गर्नेगरेका छन् । भारत निर्यात गर्दा मुनाफा राम्रो हुने भएपछि नेपाली सुपारी व्यवसायी पनि सुपारीका क्यारियरमार्फत कारोबारमा सक्रिय भएको हुन् । पछिल्लो समय ढुवानी खर्च बढेपछि सुपारी पैठारीकर्ताहरूले इन्डोनेसियाबाट आयातित सुपारीलाई नेपाली उत्पादन भन्ने कागज बनाएर भारततिर निकासी गर्नेगरेको स्रोतको दाबी छ ।
सुपारीका आयातकर्ता झापाका प्रदीप मित्तल र गोविन्द सरिया तथा विराटनगरका दिनेश राठीलगायतका अग्रपक्तिमा आउने गरेका छन् । विदेशबाट सुपारी ल्याएर भारततिर सप्लाइ गर्ने व्यापारीको चलखेल नै पछिल्लो समय सौर्य एयरलाइन्समा भएको अवैध ५० लाख प्रकरण घटेकोे बताइएको छ । इन्डोनेसियाको सुपारीलाई नेपालको उत्पादन भनेर निर्यात गरिएको विषय विराटनगरका लागि भने नौलो विषय होइन् । नेपालमा उत्पादन भएको भन्दै इन्डोनेसियालगायतका देशबाट ल्याइएको सुपारी भारततिर निकास हुने कुरामा सबै जानकार भए पनि निकासी बन्द गर्ने हिम्मत सरकारले गरेको छैन ।
गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले परिमाणात्मक बन्देज लगाउँदै २५ हजार टन सुपारी आयात गर्न अनुमति दिएका थियो । त्यसमा सुपारीको कोटा पाउनेमा पोखरेलकै समूह नै अग्रपक्तिमा रहेको थियो । सुपारीको कारोबारबाट नै पोखरेलले सौर्य एयरलाइन्समा ५० लाख रूपैयाँ काठमाडौँ पठाएको स्रोतको दाबी छ ।