काठमाडौं । डिजिटल बैंकिङलार्ई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरूको लागि कार्ड लेस क्यास विथ ड्रल सेवाकोे सुरुवात गरेको छ । यो सुविधामार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले विनाकार्ड एटीएमबाट पैसा निकाल्न सक्नेछन् ।
यस प्रविधिमा मोबाइलमा पासवर्ड (ओटीपी) प्राप्त गरी सो पासवर्ड (ओटिपी)बाट निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटीएम मेसिनमा प्रविष्टि गरी पैसा निकाल्न सकिनेछ । यो प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिनेछ । शुक्रबार एक समारोहका बीच उक्त सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विनाकार्ड एटीएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बैंकिङको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुंगा भएको बताएका छन् ।
उनले अब प्रत्येक ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ कारोबार गर्ने समय आएको र सिटिजन्स बैंक पनि यस दिशातर्फ अग्रसर भइसकेको बताए । बैंकले यसअघि मोबाइलबाटै खाताको विवरण हेर्ने, विभिन्न उपयोगी सेवको भुक्तानी गर्ने, रकमान्तर गर्नेलगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दती खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी गर्नेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।
सिटिजन्स बैंकले एक सय ७४ वटा शाखाहरूबाट करिब १३ लाख ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ । बैंकले निकट भविष्यमा काठमाडौँ उपत्यकामा छवटा शाखा विस्तार गर्दै छ ।