काठमाडौँ । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरी नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गर्न सफल विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग कीर्तिपुरबाट स्नातकोत्तर तह उत्तीर्ण खरेललाई त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्रदान गरेका थिए ।
विसं २०२२ साल माघ ११ गते एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरी सुरु भएको उक्तपदक विश्वविद्यालय व्यवस्थापन संकायमा सर्वोत्कृष्ट हुनेलाई प्रत्येक वर्ष त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहको दिन प्रदान गरिन्छ । बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले पदक विजेता खरेललाई बधाई ज्ञापन तथा सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपाल बैंकको नाममा स्थापित नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंकको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए ।
कडा परिश्रमले सधैँ सफलता मिल्दछ भन्दै यो पदक सम्पूर्ण विद्यार्थीहरूको लागि प्रेरणाको श्रोत बन्न पुगेको पनि उनले बताए । कार्यक्रममा पदक बिजेता विद्यार्थी खरेलले नेपाल बैंकको नाममा स्थापित स्वर्ण पदक प्रदान गरेकोमा नेपाल बैंक लिमिटेडप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।