काठमाडौं। बीमा कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको तीन महिनाभित्र नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसक्नुपर्ने भएको छ ।
बीमा समितिको सञ्चालनमा रहेका १९ वटै जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र दुईवटा पुनर्बीमा कम्पनी समेत गरी ४१ वटै कम्पनीहरुको नाउँमा संस्थागत सुशासनसम्बन्धी नीति जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि कुनै पनि बीमा कम्पनीहरुले तीनभन्दा बढी समय कायममुकायम प्रमुख कार्यकारी अधिकृतको भरमा कम्पनी चलाउन नपाउने भएका छन् ।
बीमा कम्पनीका सञ्चालक समितिहरुले प्रमुख कार्यकारी अधिकृतको पद खाली भएको महिनौँ बितिसक्दा पनि नयाँ प्रमुख कार्यकारी नियुक्त नगर्ने र दोस्रो वरीयताकै कर्मचारीलाई व्यवस्थापन प्रमुखको जिम्मेवारी दिएर काम गराउने गलत अभ्यास भएको भन्दै यसलाई मर्यादित बनाउन यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको समितिले जानकारी दिएको छ ।