काठमाडौँ । त्रिभुवन विमानस्थलको अध्यागमन विभाग, प्रहरी, नेपाल एयरलाइन्स र सरकारी कर्मचारीकै मिलेमतोमा भिजिट भिसामा खाडी मुलुकमा मानव तस्करी हुँदै आएको पाइएको छ ।

पछिल्लो तथ्यांकअनुसार दुवईमा ६० हजार नेपाली भिजिट भिसामा पुगेका छन् । तीमध्ये हजारौँको संख्यामा बिचल्ली भएका छन् । भिजिट भिसामा मानव तस्करी गर्नेहरुले विमानस्थलको अध्यागमनलाई प्रतिव्यक्ति ७५ हजार रुपैयाँ बुझाउनुपर्छ भन्दै नेपाली कामदारबाट असुली गर्दै आएका छन् ।
‘एयरपोर्ट सेटिङकै लागि भनेर हामीलाई प्रतिव्यक्ति ७५ हजार रुपैयाँ छुट्टै काटिएको छ’, त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सिजबाट दुवईमा पुगेर बिचल्ली भएका एक नेपालीले आर्थिक दैनिकसँग भने, ‘विमानस्थलमा त्यो पैसा कसलाई दिइन्छ, त्यो त थाहा भएन तर हामीबाट भने प्रतिव्यक्ति यसरी असुली गरिएको छ ।’
दुवईमा कार्यालय रहेको त्रिनेत्रमार्फत भिजिट भिसामा दुवई पुगेका सयौँ नेपाली यतिबेला दुवईमा बिचल्लीमा परेका छन् । उनीहरुले चार महिनादेखि काम त पाएका छैनन् नै खान समेत नपाएर भौँतारिनुपरेको छ । त्रिनेत्र म्यानेजमेन्टका मालिक बताउने कोमलराज उपाध्यायले त्यहाँ बन्धक बनाएर राखेका नेपालीहरुलाई कुटपिट गर्ने र राहदानी समेत कब्जा गरेर राखेको नेपालीहरुले बताएका छन् । शुक्रबार उनी नेपालीलाई अपहरण तथा कुटपिट गरेको भन्दै दुवई प्रहरीको हिरासतमा समेत पुगेका थिए ।
स्रोतका अनुसार विमानस्थलमा भिजिट भिसाको नाममा मानवतस्करी गर्ने दलालहरुले अध्यागमन विभागकै महानिर्देशक नारायण प्रसाद भट्टराईसँग सेटिङ मिलाएका छन् । अध्यागमन विभागले वास्तविक भ्रमणमा जाने नेपालीहरुलाई रोक्ने र भिजिट भिसामा रोजगारीका लागि दुवई पुग्ने नेपालीका लागि भने खुला गर्ने नीति नै लिएको छ ।
त्रिनेत्र म्यानेजमेन्टले एकै साथ एक सय ७५ जना नेपालीलाई लैजाँदा समेत विभागले कुनै रोकतोक गरेन । हाल दुवईमा बिचल्लीमा रहेका उनीहरु सबै एउटै क्याम्पमा छन् । उनीहरुमध्ये ८० जनाभन्दा बढी नेपाली सेनाका पूर्वकर्मचारी छन् । त्रिनेत्रका मालिक कोमलराज उपाध्यायले विमानस्थलका हाकिम भट्टराईलाई आर्थिक प्रभावमा पारेर नेपाली युवा अवैध रुपमा युएई पु-याएको बताउँदै आएका छन् । उनी केही दिनअघि नेपाल समेत आएका थिए ।
त्रिनेत्रमार्फत नेपालीहरु दुवईमा भिजिट भिसामा पुगेर काम नपाएपछि बिचल्ली परेको विषय सञ्चारमाध्यममा सार्वजनिक हुँदा पनि मालिक उपाध्यायलाई अध्यागमन विभागले कुनै छानबिन गरेन । विभागले उनलाई खुलमखुल्ला नेपाल आउने जाने अनुमति दिएको छ । तर, दुवई प्रहरीले भने उनलाई दुवई पुग्नेबित्तिकै पक्राउ गरी पासपोर्ट कब्जा गरेर छाडेको छ । यता नेपालको अध्यागमन विभागको भूमिका शंकास्पद देखिए पनि यसमा आफ्नो व्यक्तिगत कुनै पनि प्रकारको स्वार्थ नरहेको अध्यागमन विभागका महानिर्देशक भट्टराई बताउँछन् ।
आर्थिक दैनिकसँग कुरा गर्दै महानिर्देशक भट्टराईले भने नेपालीहरु भिजिट भिसामा विदेश जाँदा आफूहरुको नीतिगत सहयोग भएको भए पनि व्यक्तिगत सहयोगमा कोही प्रलोभनमा परेर काम गरेको छ भने त्यसलाई कानुनको दायरामा ल्याउने र यसमा आफ्नो संलग्नता रहेको भन्ने कुरोमा पनि कुनै सत्यता नरहेको बताए ।