काठमाडौँ । ललितपुर महानगरपालिका–२१ स्थित नख्खु खोलामा निर्माण सुरु गरिएको नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आइतबार एक कार्यक्रमका बीच आयोजनाको शिलान्यास गरेकी हुन् ।
शिलान्यास कार्यक्रममा मन्त्री भुसालले राजकुलोको काम गुणस्तरीय तवरले निर्धारित समयमा सकाउन निर्देशन दिइन् । ‘उपभोक्ताले कामको निरन्तर नियमन गरेर कुलोबाट जतिसक्दो धेरै फाइदा लिनेगरी निर्माण गर्नुपर्छ, त्यसको आवश्यक प्रबन्ध म गर्नेछु, स्थानीयस्तरमा तपाईँहरू सक्रिया हुनुहोस्’, उनले भनिन् ।
यस्तै उनले उर्वर भूमिलाई खण्डीकरण गरेर घडेरीका रूपमा बिक्री गर्नेभन्दा पनि कृषि उत्पादन गरी त्यहीबाट आर्थिक उपार्जन गर्न खोकनावासीलाई आग्रह गरिन् । सामूहिक खेती गरेर उत्पादकत्व वृद्धितर्फ लाग्नुपर्नेमा जोड दिँदै उनले सबै मिलेर सामूहिक खेती गरे आफू पनि सामेल हुने बताइन् । संविधानमा उल्लेख गरिएको समाजवादको यात्राका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्नेमा जोड दिँदै उनले समाजवाद हाम्रै सीप र परिश्रमबाट आउने भएकोले त्यसका लागि निरन्तर सिर्जनशील काम गर्नुपर्ने बताइन् । यस्तै तेलका लागि प्रसिद्ध खोकना सांस्कृतिक एवं कृषिका दृष्टिकोणले ऐतिहासिक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ऐतिहासिक खोकना राजकुलोको संरक्षण र संवद्र्धनमा मन्त्रालयले निरन्तर सहयोग गर्ने विश्वास दिलाए । स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उनको जोड थियो । सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले ऐतिहासिक कुलो स्तरोन्नतिबाट खोकनावासीलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्दै विनियोजित बजेटको सही तवरले सदुपयोग हुने बताए ।
कार्यक्रममा ललितपुर महानगर–२१ का वडाध्यक्ष रविन्द्र महर्जनले खोकनावासीका खेत सिञ्चित गर्नका लागि राजकुलो महत्वपूर्ण भएको र कुलो स्तरोन्नतिका लागि विनियोजित बजेटको सही सदुपयोग गरेर सिँचाइ प्रणालीमा सुधार आउने उल्लेख गरे । उनले आगामी दिनमा खेतीयोग्य जमीन खण्डीकरण हुन नदिनेतर्फ आफूले ध्यान दिने बताए ।
ललितपुरको उत्तर–पश्चिममा अवस्थित खेकना राजकुलो सिँचाइ प्रणाली करिब ३ सय वर्षअघिदेखि सञ्चालनमा आएको स्थानीय बताउँछन् । सो राजकुलोको सञ्चालन विगतमा गाउँका मुख्य व्यक्तिबाट हुँदै आएकामा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर गरिँदै आएको छ ।
स्थानीय कृषकको मागलाई मध्यनगर गर्दै आवश्यकता र पहिचानका आधारमा चालू आर्थिक वर्षमा मन्त्रालयले मुहान संरक्षणका लागि एक करोड ३२ लाख र नहर निर्माणका लागि ४० लाख विनियोजन गरेको थियो । उक्त राजकुलोबाट छम्पी, ठेचो, बुङ्मती, भैँसीपाटी र खोकनाको करिब १० हजार रोपनी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । यस प्रणालीबाट करिब दुई हजार परिवारका एवं सात हजार व्यक्ति लाभान्वित हुने नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजनाले जनाएको छ ।