दोलखा । ४० वर्षदेखि अरुको घरका पिँढी र गोठमा सुतेर गुजारा चलाउँदै आएका बैतेश्वर नाम्दुका मिठु सार्की अहिले आफैँ जग्गाधनी भएका छन् । सार्कीले अहिले आफ्नै नामको लालपुर्जासँगै दुई कोठाको घर समेत पाएका छन् ।
राम्रोसँग आखाँ देख्न, बोल्न तथा कान समेत सुन्न नसक्ने अपाङ्गता भएका मिठु सार्की अहिले ४० वर्षका भए । जन्मनुअघि नै सुकुमबासी रहेका मिठुको ४० वर्षपछि आफ्नै घरभित्र सुत्ने सपना पूरा भएपछि उनी अहिले दङ्ग छन् । सार्कीलाई समाजसेवी झलक तामाङको पहलमा सगुन सोसल अर्गनाइजेसनलले एक लाखमा जग्गा किनेर उनको नाममा पास गरी उक्त जग्गामा दुई कोठाको घर निर्माण गरिदिएको हो ।
आफ्नो नाममा एक आना पनि जग्गा नहुँदा उनको परिवार यसअघि मागेर गुजारा गर्दै आएको थियो । साथै उनीहरू छिमेकीको गोठमा बस्दै आएका थिए । करिब १५ वर्षअघि आफूजस्तै बोल्न नसक्ने सुनिता खड्कासँग अन्तरजातीय विवाह गरेका उनी विवाहअघिदेखि नै छिमेकीको घर र विभिन्न गाउँमा बस्दै आएका थिए । मिठुका दुईवटा सन्तान छन् । आमा–बुबा राम्रोसँग बोल्न नसके पनि सुनिता र मिठुका छोराछोरी भने राम्रोसँग बोल्छन् ।
सार्कीका छोरा स्थानीय बुस्ती आधारभूत विद्यालयमा बाबुआमासँगै बसेर पढ्छन् भने, छोरी सहिद स्मृति माध्यमिक विद्यालय जिरीमा पढ्छिन् । मिठुकी श्रीमति सुनिता पेट पाल्नकै लागि दर्जनौँ गाउँमा डुल्ने गर्छिन् र मागेर ल्याएर श्रीमान् र छोरालाई खुवाउछिन् । आठ वर्षका मिठुका छोरा भन्छन्, ‘गाउँमा सानो जातको भएका कारण घरभित्र सुत्न पाइँदैन । घरबाहिरै रात काट्नु पर्थ्यो अब आफ्नै घरभित्र सुत्न पाउने भएका छौँ ।’
सगुन सोसल अर्गनाइजेसनका प्रमुख झलक तामाङले स्थानीय झिल्के सार्कीसँग एक लाखमा जग्गा किनेर मिठु सार्कीको नाममा पास गरेर लालपुर्जासहित दुई कोठाको घर निर्माण गरेर हस्तान्तरण गरेको बताए । बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले शनिबार सार्कीलाई लालपुर्जा र घर हस्तान्तरण गरेका थिए । अपाङ्गले प्रयोग गर्न मिल्ने सौचालय, चुलोसहितको घर निर्माण गरिएको तामाङको भनाइ छ । आफ्नो नाममा घरजग्गा र लालपुर्जा नहुँदा राज्यले दिएको भूकम्पपीडित अनुदान समेत उनले पाउन सकेका थिएनन् ।
गाउँपालिका र वडाले पटक–पटक प्रयास गर्दा समेत सार्कीको नाममा अनुदान नआएको वडा अध्यक्ष शमसेर घिसिङले बताए । श्रीमान्–श्रीमती दुवै अपाङ्ग भएकाले उनीहरूको आर्थिक अवस्था नाजुक रहेकोे वडा अध्यक्ष घिसिङले बताए । तामाङको पहलमा सगुन सोसल अर्गनाइजेसनले यसअघि पनि विभिन्न सुकुमबासीलाई घर निर्माण गरेर सहयोग गर्दै आएको छ ।
संस्थाले बैतेश्वर नाम्दुको घिमिरेटारकी एक ज्येष्ठ महिला र गैरिमुदिका विभिन्न दलितलाई घर निर्माण गरेर हस्तान्तरण गरिसकेको छ । त्यसैगरी संस्थाले करिब दुई सय घरपरिवारलाई खानेपानीको धारा समेत निर्माण गरिदिएको छ ।