मुम्बई, माघ २२
भारतीय इन्जिनियरिङ समूह लार्सेन एण्ड टर्बो लिमिटेडले यूएईमा ढुवानीसम्बन्धी पूर्वाधार निर्माणको ठेक्का पाएको छ । एत्तिहाद रेल नेटवर्क २ का लागि सातवटा रणनैतिक गन्तव्यमा उक्त निर्माणको ठेक्का पाएको कम्पनीले मंगलबार जनाएको हो । उक्त ठेक्का ३५ देखि ७० करोड अमेरिकी डलरसम्मको रहेको बताइएको छ । यूएईको एत्तिहाद रेल कम्पनी पीजेएससीले उक्त ठेक्का लगाएको हो । सोही कम्पनीले यूएईको नेशनल फ्रेट र पेसेन्जर रेलवे सञ्जालको व्यवस्थापन गर्छ । उक्त परियोजना पावर चाइनासँगको संयुक्त उपक्रममा कार्यान्वयन हुनेछ । पावर चाइना चिनियाँ सरकारी स्वामित्वको निर्माण कम्पनी हो ।