काठमाडौँ । व्यक्तिगत आवास अर्थात् होम लोन शीर्षकमा मात्र बैंक तथा फाइनान्स कम्पनीहरुले ठूलो परिमाणमा कर्जा लगानी गरेको देखिएको छ । विश्व बैंकिङ बजारमा व्यक्तिगत आवास क्षेत्रको लागि प्रवाह गरिने कर्जालाई सबैभन्दा सुरक्षित कर्जाको रुपमा लिने गरिएको छ । सोही कारण पनि नेपाली बैंकहरुले व्यक्तिगत आवासतर्फ बढी कर्जा प्रवाह गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा मात्र सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ६१ वटा संस्थाहरुले आफ्नो देशव्यापीरुपमा फैलिएका छ हजार एक सय ३६ वटा शाखामार्फत व्यक्तिगत आवास शीर्षकमा कुल तीन खर्ब १२ अर्ब दुई करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल निक्षेप तथा कुल कर्जा रकम भने क्रमशः ४८ खर्ब ४२ अर्ब ७० लाख र ४५ खर्ब ५५ अर्ब २४ करोड ९० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्र भने चालू आवको पछिल्लो चार महिनामा सबै क्षेत्रमा फैलिएका आफ्ना चार हजार आठ सय ४३ वटा शाखामार्फत व्यक्तिगत आवास शीर्षकमा मात्र दुई खर्ब ५७ अर्ब ८१ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप तथा कुल कर्जा रकम भने क्रमशः ४२ खर्ब ३५ अर्ब २२ करोड र ४० खर्ब ४० अर्ब २३ करोड ७० लाख रुपैयाँ रहेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो चार महिनामा विकास बैंकहरुले भने कुल चार खर्ब ७६ अर्ब १५ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब २८ अर्ब ३४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्ये व्यक्तिगत आवास शीर्षकमा मात्र विकास बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम ४४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ रहेको छ । विकास बैंकहरुको कुल शाखा संख्या भने देशभर एक हजार ४९ वटा रहेको छ ।
यस अवधिमा फाइनान्स कम्पनीहरुले भने आफ्ना सबै क्षेत्रमा फैलिएका दुई सय ४४ वटा शाखामार्फत व्यक्तिगत आवास शीर्षकमा नौ अर्ब २२ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार उक्त अवधिमा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ९२ अर्ब ८३ करोड १० लाख र ८१ अर्ब ८७ करोड ९० लाख रुपैयाँ रहेको छ ।