विराटनगर । पूर्वी क्षेत्रका उद्योगी व्यवसायीले विराटनगर–जोगबनी सीमाना जोड्ने मीरगञ्ज पुल तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । मुलुककै दोस्रो ठूलो व्यापारिक नाका विराटनगर–जोगबनी जोड्ने भारतको बथनाहास्थित मीरगञ्ज पुल क्षतिग्रस्त हुँदा सयौँ कच्चा पदार्थ बोकेका मालवाहक सवारीसाधनहरूको आवागमन ठप्प भएका छन् । उक्त पुल तत्काल मर्मत गरी सवारीसाधनको आवागमन सहजीकरण गर्न मोरङ व्यापार संघले नेपालसहित भारतका विभिन्न निकायहरूसँग माग गरेको छ । विराटनगर नाकाबाट झण्डै पाँच किमि भारततर्फ परमान नदीमाथि अवस्थित सो पुल क्षतिग्रस्त भई आवागमन ठप्प हुँदा नेपाल तथा मोरङ–सुनसरी आर्थिक कोरिडोरका लागि भित्रने खाद्यान्न, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, औषधिजन्यसहित कैयौँ प्रकारका सामग्री बोकेका सवारीसाधनहरू सम्बन्धित गन्तव्यमा पुग्न सकेका छैनन् । आगमन सहज नहुँदा पछिल्लो समय आयातित माल वस्तुहरूको सुरक्षा र गुणस्तर समेत जोखिममा पर्दै गएको मोरङ व्यापार संघको दाबी छ । हाल आयातित मालवस्तुहरूको लागत खर्च अनपेक्षित रूपले वृद्धि हुन गएको र विराटनगर भन्सार कार्यालयबाट हुने दैनिक १५ करोडभन्दा बढीको राजस्व संकलन कार्य समेत प्रभावित हुन पुगेको संघको भनाइ छ । सो नाकामार्फत नेपाल भित्रने मालवस्तुहरूको पारवहन अवरुद्ध हुँदा नेपालमा निकट भविष्यमै औद्योगिक/व्यावसायिक प्रयोजनका मालसामानहरूको अभाव सिर्जना हुने र चौतर्फी रूपमा प्रभाव पर्ने निश्चित रहेको भएको छ । पुल क्षतिग्रस्त भएपछि गत पुस २२ गतेदेखि भारतको स्थानीय प्रशासनले सो पुलमार्फतको आवागमनमा पूर्ण रोक लगाइसकेको छ । उक्त समस्या तत्कालै निराकरण गर्न मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मून्दडाले नेपालसहित भारतका विभिन्न निकायहरू समक्ष अनुरोध गरेको बताए । संघले नेपालका प्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, जिल्ला प्रशासन कार्यालय र विराटनगर भन्सार कार्यालयसहित भारततर्फ सडक परिवहन तथा राजमार्ग मन्त्रालय, नेपालस्थिति भारतीय राजदूतावास, भारतको पटनाका भन्सार कमिश्नर, जोगबनी ल्यान्ड कस्टम्स स्टेसन, अररियाका डिष्ट्रिक्ट मजिस्टेस्ट्रिेट र फारवीसगञ्जका सबडिभिजिनल मजिस्ट्रिेटलगायतलाई अनुरोध गरेको छ । त्यसैगरी सोमबार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल र पूर्वअध्यक्ष महेश जाजूूले नेपालका परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट गरी संघका तर्फबाट ज्ञापनपत्र बुझाएका छन् । संघले भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रने मालवाहक सवारी साधनहरूका लागि भारतको भीमनगर–भन्टाबारी भन्सार नाकासहित अररिया जिल्लाको अररिया–कुर्सा काँटा–जोगबनी मार्गलाई वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याउन अनुमति दिन पनि माग गरेको छ । जीर्ण अवस्थाको मिरगञ्ज पुलको तत्कालै मर्मत गर्न र सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधीन नयाँ पुलको निर्माण कार्य यथाशीध्र सक्न आग्रह गरिएको छ ।