काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडको २९औं वार्षिक साधारणसभाले सेयरधनी सदस्यहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सोमबार काठमाडौँमा सम्पन्न साधारणसभाले सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
यस्तै सभाले सञ्चालक समितिबाट पेस भएका सबै प्रस्तावहरू पारित गरेको छ । जसअनुसार सञ्चालक समितिको प्रतिवेदन, आव २०७७।७८ को लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरू, लेखापरीक्षण समितिको सिफारिसबमोजिम आव २०७८/७९ को लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर वितरण गर्ने, बोनस सेयर वितरणका लागि चुक्ता पुुँजी वृद्धि गर्नेलगायतका प्रस्तावहरू पारित गरेको हो ।
नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सो नगद लाभांश यथाशक्य छिटो सेयरधनीहरूलाई वितरण गरिने सभामा जानकारी दिइएको थियो । बोनस सेयर जारी भएसँगै कम्पनीको चुक्ता पुँजी तीन अर्ब २४ करोड ६३ लाख २६ हजार ८ सय रूपैयाँ कायम हुनेछ । सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
कम्पनीले प्रत्यक्षरूपमा सञ्चालन गर्दै आएका नौ दशमलव चार मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् गृहहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् । साथै सहायक तथा सम्बद्ध कम्पनीहरूमार्फत सञ्चालित चार मेगावाटको खुदी जलविद्युत् गृह र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत् गृहको सञ्चालन सुचारु रूपमा हुँदै आएको छ । खिम्ती आयोजनाको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखि नेपाल विद्युत् प्राधिकरणमा गएको जानकारी समेत दिइएको छ ।
यस्तै ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माणकार्य सम्पन्न भए पनि प्रशारण लाइन तथा सबस्टेसनको अभावले विद्युत् उत्पादन तथा वितरण ढिलाइ हुनगएको कम्पनीले जनाएको छ । यता ३७ दशमलव छ मेवाको काबेली ए जलविद्युत् आयोजनामा विश्व बैंकले हात झिकेका कारण सन् २०२० को सुरुदेखि नै निर्माणकार्य स्थगित रहेको कम्पनीले जनाएको छ ।
तीन चिनियाँ लगानीकर्ताहरूसँगको संयुक्त लगानीमा मस्र्याङ्दी नदीमा निर्माणको चरणमा रहेका अयोजनाहरूमा एक सय ३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना, एक सय ३९ दशमलव दुई मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना र तीन सय २७ मेगावाटको माथिल्लो मर्स्याङ्दी दोस्रो जलविद्युत् आयोजना क्यासकेड अवधारणामा निर्माण गर्न लागिएको कम्पनीको भनाइ छ ।
निर्माणको तयारीमा रहेको सात दशमलव नौ मेगावाटको चिनोखोला जलविद्युत् आयोजनाले सुरुमा मर्स्याङ्दी क्यासकेड आयोजनाहरू निर्माणको लागि आवश्यक विद्युत् अपूर्ति गर्ने र सोपछि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् बिक्री गर्नेगरी तयारी अघि बढाइएको छ ।