काठमाडौँ । सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयूटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ ।
‘इयुटी प्लस’ एलायन्समा आबद्ध ती सरकारी विश्वविद्यालयमा साइप्रस युनिभर्सिटी अफ टेक्नोजोली (साइप्रस), दार्मस्तात् युनिभर्सिटी अफ एप्लाइड साइन्स (जर्मनी), रिगा टेक्निकल युनिभर्सिटी (लाट्भिया), टेक्नोलोजिकल युनिभर्सिटी अफ डब्लिन (आरयल्याण्ड), टेक्निकल युनिभर्सिटी अफ सोफिया (बलगेरिया), पोलिटेक्निकल युनिभर्सिटी अफ कार्ताहेना (स्पेन), टेक्नोलोजिकल युनिभर्सिटी अफ ट्रोयस (फ्रान्स) र टेक्नोलोजिकल युनिभर्सिटी अफ क्लुज नापोका (रोमानिया) रहेका छन् । अध्ययन अध्यापन तथा अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरमा अब्बल साबित ती विश्वविद्यालयसँगको सम्झौता कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीको क्षमता तथा गुणस्तर अभिवृद्धिका लागि महत्वपूर्ण कोसेढुङ्गा सावित हुने बताइएको छ ।
युरोपियन युनियनअन्तर्गत ‘इरासमस प्लस प्रोग्राम’को आर्थिक सहयोगमा सगरमाथा इन्जिनियरिङ कलेजलगायत स्पेन, पोर्चुगल, भारत र नेपालका नौ उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाबीचको सहकार्यमा सञ्चालन भइरहेको दुई वर्षीय आयोजना ‘इन्टरनेशनलाई जेशन अफ हायर एजुकेशन इन्स्टिच्युटसन इन नेपाल एण्ड इन्डिया (इन्टरनेपिण्ड)’द्वारा स्पेनमा आयोजित एक महिने तालिम कार्यक्रममा सहभागी हुने क्रममा कलेजका प्राचार्य रमेश श्रेष्ठले ती युरोपियन विश्वविद्यालयको छाता संस्था इयुटी प्लस एलायन्ससँग सम्झौता गरेका हुन् ।
कलेज र ती विश्वविद्यालयबीच विद्यार्थी, शिक्षक तथा कर्मचारी आदानप्रदान, अध्ययन, अध्यापन, अनुसन्धान तथा तालिम तथा विभिन्न परियोजनामा सहकार्य, छात्रवृत्तिका कार्यक्रम सञ्चालन लगायतका विभिन्न कार्यक्रम संयुक्तरुपमा सञ्चालन हुने व्यहोरा सम्झौतामा उल्लेख छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त सगरमाथा इन्जिनियरिङ कलेजद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा कलेजका प्राचार्य श्रेष्ठले इयुटी प्लस एलायन्ससँग द्विपक्षीय सम्झौतामार्फत युरोपका विभिन्न विश्वविद्यालयसँग जोडिन पाउनु सगरमाथा इन्जिनियरिङ कलेजका लागि गौरवको विषय रहेको बताए ।
यसले कलेजको क्षमता तथा समग्र शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण टेवा पु-याउने उनको भनाई छ । उनका अनुसार ‘इरासमस प्लस प्रोग्राम’ अन्तर्गत विगत चार वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा कलेज सहभागी हुँदै आएको छ । हाल तीन परियोजना ‘अ स्टेप फर्वाड इन इन्टरनेसनलाइजेसन अफ हायर एजुकेशन इन्स्टिच्यूटसन इन नेपाल एण्ड इन्डिया’ (इन्टर नेपिण्ड)’, ‘नेपाल भुटान हायर एजुकेशन फर अकम्पलिसिङ द सस्टेनबल डेभलमेन्ट गोल्स’ (बी प्लस एन ईएसडीजी) र ‘स्ट्रेन्थेनिङ प्रोब्लम बेसड् लर्निङ इन साउथ एशियन युनिभर्सिटिज’ (पीबीएल–एसए) तथा दुई मोबिलिटी कार्यक्रम सञ्चालनमा छ ।
यसबाट कलेजलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग प्राज्ञिक साझेदारी अभिवृद्धि गर्न तथा विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई विभिन्न किसिमका शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिमा संयुक्तरुपमा सहभागी गराई क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताइएको छ ।