काठमाडौँ । थाइल्यान्डको क्षेत्रीय पूर्ण वायुसेवा प्रदायक कम्पनी थाई स्माइल एयरवेजले सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टको रुपमा नियुक्त गरेको छ । यो नियुक्ति २०२१ डिसेम्बर १ देखि लागू भइसकेको कम्पनीले जनाएको छ ।
बैंककस्थित थाई एयरवेजको पूर्ण स्वामित्व रहेको क्षेत्रीय थाई स्माइल एयरवेजले नेपालको उत्कृष्ट ट्राभल एजेन्सी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टमा नियुक्त गरेको छ । यस सम्झौताअनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले थाई स्माइल एयरवेजका लागि सेल्स, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै पूर्ण ग्राहक र एजेन्सी सहयोग सेवाहरू उपलब्ध गराउनेछ ।
यसै सम्झौतामार्फत थाई स्माइल एयरवेजले नेपाली ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै नेपाली बजारमा रहेको अवसरलाई सदुपयोग गर्ने मात्र नभई सन् १९६८ देखि थाई एयरवेज इन्टरनेशनलले वायुसेवा प्रदान गर्दै आएको यस रुटमा फेरि वायुसेवा प्रदान गर्दै नेपाल र थाइल्याण्डबीचको दूरी पनि मेटाउने लक्ष्य राखेको छ ।
आरआर ग्रुप अफ कम्पनिजको स्वामित्वअन्तर्गतको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले थाई स्माइल एयरवेजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । यो सहकार्यले एयरलाइन्सहरुको अन्तर्राष्ट्रियस्तरको सेवा र स्थानीय बजारको ज्ञानलाई अझै राम्रो अवसर दिएको उनले बताए ।
थाई स्माइल एयरवेजको काठमाडौं–बैंकक उडानले दुई देशको सम्बन्ध अझ मजबुत बनाउनुको साथै दुवै देशको पर्यटन प्रवर्धन गर्दै दुवै देशको अर्थतन्त्रको विकासमा पनि उल्लेखनीय भूमिका खेल्ने उनको भनाइ छ । यस्तै थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (थाई)को सहायक एयरलाइन्स, थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाईले बैंकक–काठमाडौं रुट सुरु भएको जानकारी दिन पाउँदा थाई स्माइल टिम गौरवान्वित भएको उल्लेख गरे ।
यसले बैंकक र एसियाका अन्य मुख्य शहरहरूबीच सम्पर्क बढाउने कम्पनीको रुट प्लानिङ रणनीतिलाई सफल बनाएको उनको भनाइ छ । यस उडानले थाइल्याण्ड–नेपाल सम्बन्धमा अर्को सुनौलो आयाम थप्ने उनको विश्वास छ । साथ–साथै अन्य धेरै किसिमले एसियाली क्षेत्रीय ट्रेड फेयर क्यापिटलको रूपमा सांस्कृतिक र पर्यटकीय विकास, व्यापार र ट्रेड सम्बन्धमा पनि नयाँ आयाम थप्ने उनको भनाइ छ ।
विस्तारै दक्षिण एसियाली र अन्य एसियन मुलुकहरुमा पनि गन्तव्य विस्तार गर्ने गेट–वेको रुपमा नेपालको विकास हुने र पर्यटकहरुको लागि नेपाल अझै उत्कृष्ट गन्तव्य बन्ने कम्पनीको दाबी छ ।