काठमाडौँ । नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गइरहेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’मा सहकार्य गर्ने भएको छ ।
उक्त सहकार्यका लागि बैंकले आर एन्ड डी इनोभेटिभ सोलुसन्स प्रालिसँग सम्झौता गरेको हो । नेपाल कृषि मेसिनरी व्यवसायी संघद्वारा आउँदो माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना हुन गइरहेको पाँचौँ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनीमै एकैसाथ ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’को आयोजना आर एन्ड डी इनोभेटिभ सोलुसन्स प्रालिले गर्दै छ । कृषिसम्बन्धी सम्पूर्ण सरोकारवालाहरू किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरू र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउने उक्त मेलाको प्रमुख उद्देश्य छ ।
नबिल बैंकद्वारा प्रस्तुत हुन गइरहेको उक्त मेलाको प्रमुख आकर्षण ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’ कार्यक्रममा कृषि लगानीसम्बन्धी समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरूबीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ । उक्त सहकार्यका लागि नबिल बैंक लिमिटेको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख श्री निरज कुमार बस्नेत (डनिल) र आर एन्ड डी इनोभेटिभ सोलुसन्स प्रालिका तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कृषि कर्जा मेलामा आयोजना हुन लागेको ‘कृषि लगानीसम्बन्धी राष्ट्रिय संवाद’को प्रस्तुति गर्न पाउँदा नबिल बैंक गौरवान्वित भएको निरज कुमार बस्नेत (डनिल)ले बताए ।उक्त संवाद कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालाहरूलाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति नियमबीचको अन्तर, किसानहरू, उद्यमीहरू र कृषि व्यापारीहरूको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरू परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुनेछ ।
त्यस्तैगरी सुनिता न्हेम्हाफूकीले भनिन्, ‘सबै बैंकरवित्तीय संस्था एकै थलोमा, बुझौँ र बुझाऔँ कृषि कर्जाको बारेमा’ भन्ने हाम्रो प्रयासलाई नबिल बैंकका साथले समग्र कृषिमा वित्तीय पहुँच पु¥याउने कामको लागि यस सहकार्य कोसेढुंगा साबित हुनेछ ।’
नेपालमा नै पहिलो पटक हुन लागेको यो मेलाले कृषिमा देखिने गरेर परिवर्तन ल्याउनेछ भन्नेमा विश्वस्त रहेको बताए ।
सन् १९८४ मा स्थापित यस बैंकका हाल एक सय ३५ शाखा, एक सय ८८ एटीएम र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू छन् ।
बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोशेढुंगाको रूपमा काम गर्दै आएको छ ।