काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कसैको निजी स्वार्थ पूरा गर्नका लागि मात्र सहकारी ऐन संशोधन नहुने बताएकी छिन् । संविधानको मूल मर्म, भावना तथा सहकारी दर्शन, सिद्धान्तअनुसार ऐन छैन भने त्यसलाई संशोधन गर्न आफू तयार रहेको उनको भनाइ छ ।
राष्ट्रिय सहकारी महासघको २९औँ वार्षिक साधारणसभाको मंगलबार उद्घाटन गर्दै उनले कुनै ऐन संविधानसँग बाझिने खालको छ भनेर परिकल्पना गर्न समेत नसकिने बताइन् । यस्तै तीव्र आर्थिक वृद्धि हासिल गर्न, शोषणरहित समाज निर्माण गर्न र आत्मनिर्भर समृद्ध अर्थतन्त्र निर्माणका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने उनले बताइन् ।
उनले सहकारीलाई मर्यादित र सुशासितरुपमा सञ्चालन गराउनका लागि नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघले भूमिका खेल्नुपर्ने समेत उल्लेख गरिन् । कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कँडेलले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान पाँच प्रतिशत र वित्तीय क्षेत्रमा करिब १७ प्रतिशतभन्दा माथि रहेको बताए । उनले चार दर्जन बढी अन्तरसम्बन्धित ऐनहरु संशोधन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघीय सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारी सुशासन र स्वनियममा केन्द्रीय संघहरुलाई समेत सचेत गराउनुपर्ने अवस्था रहेकाले महासंघको समेत भूमिका आवश्यक रहेको औँल्याए । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशब बडाल, वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, पूर्वअध्यक्ष दीपक प्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरेलले सम्बोधन गरेका थिए ।
कार्यक्रममा महासंघका अध्यक्ष कँडेलले महासंघको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखासुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले वित्तिय अवस्थाको विषयमा जानकारी गराएकी थिइन् । साधारणसभाले १० वर्षे रणनीतिक योजना स्वीकृत गरेको छ । त्यसैगरी महासंघको विधान समेत संशोधन गरिएको छ ।
नेपालमा चितवनको बखनापुर ऋण सहकारी समितिको स्थापना भई विस २०१३ साल चैत २० गते सुरु भएको नेपालको सहकारी अभियान अहिले ६५औँ वर्षको यात्रामा छ । हाल सहकारी संस्थाहरुको संख्या २९ हजार आठ सय ८६, सेयर सदस्य ७३ लाख सात हजार चार सय ६२ र सेयर पुँजी ९४ अर्ब १० करोड रहेको छ । चार खर्ब ७७ अर्ब ९६ करोड बचत परिचालन भई चार खर्ब २६ अर्ब २६ करोड ऋण परिचालन भएको छ । ८८ हजार तीन सय नौ प्रत्यक्ष रोजगारी र करिब १० लाख व्यक्तिहरुलाई अप्रत्यक्ष रुपमा स्वरोजगार बनाएको छ ।
देशभरि १९ वटा विषगत केन्द्रीय सहकारी संघ, ७० वटा जिल्ला सहकारी संघ दुई सय ५६ विषयगत जिल्ला सहकारी संघ सहकारी अभियान क्रियाशील रहेका छन् । प्रदेशस्तरीय सहकारीहरु र व्यावसायिक प्रकृतिका विशिष्टीकृत सहकारी संघहरु समेत स्थापना भइरहेका छन् ।
उस्तै सभामा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा लिखित ‘सहकारीमा २५ वर्ष भोगाइ र अनुभूति’ नामक पुस्तक विमोचन भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठले पुस्तक विमोचन गरेकी हुन् । कुमाङ्ग सुब्बाले प्रकाशन गरेको पुस्तकमा सहकारी महासंघमा सुब्बाको २५ वर्षे यात्रा समेटिएको छ ।
पुस्तकका लेखक सुब्बाले सो पुस्तक बिक्रीबाट प्राप्त रकमको १० प्रतिशत राष्ट्रिय सहकारी महासंघको सहकारी विकास कोषमा प्रदान गर्ने घोषणा गरेकी छन् । महासंघका निवर्तमान अध्यक्ष केशव बडालले निरन्तरता र धैर्यताले सफलतामा पुग्न सकिन्छ भन्ने सन्देश पुस्तकले दिएको बताए ।
नेपालको सहकारी अभियानले कसरी चुलोचौकोमा सीमित महिलालाई परिवार, समाज हुँदै राजनीतिक मुल प्रवाहमा जोड्यो भन्ने प्रसङ्ग पनि पुस्तकमा छ ।