काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पश्चिमा संस्कृतिको प्रभावमा नपर्न आग्रह गरेकी छिन् ।
काठमाडौंमा आयोजित हिमालय अन्तर्राष्ट्रिय अवार्ड कार्यकममा मन्त्री रेग्मीले संस्कृति नेपालको पहिचान भएकोले कलाकर्मीलगायत सबै नागरिकले यसको जगेर्ना गर्न विशेष जोड दिनुपर्ने बताइन् ।
उनले अवार्डबाट सम्मानित विभिन्न व्यक्तित्वलाई बधाई तथा शुभकामना दिइन् । ‘सरकारले आफ्नो संस्कृतिलाई विशेष महत्व दिने भएकैले विभिन्न चाडपर्वमा सार्वजनिक विदा समेत दिने गरिएको छ,’ मन्त्री रेग्मीले भनिन्, ‘पछिल्लो पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव बढी देखिएकोले हाम्रो मौलिकता नै हराएर पो जाने त होइन भन्ने चिन्ताको विषय छ ।’
उनले यसका लागि सबै सचेत हुन अनिवार्य रहेको उल्लेख गरिन् । पृथ्वी जयन्तीको शुभकामना दिँदै मन्त्री रेग्मीले सबै कलाकर्मीको उज्ज्वल भविष्यको कामना गरेकी छिन् ।