काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेसनल हस्पिटलले ‘कोभिड ओपीडी क्लिनिक सेवा’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार अस्पतालमा आउने अन्य बिरामीहरुलाई हुनसक्ने सम्भावित संक्रमणबाट बचाउन सकियोस् तथा संक्रमितले डेडिकेटेड विशेषज्ञबाटै गुणस्तरीय सेवा पाओस् भन्ने उद्देश्यले अस्पतालले मुख्य भवनभन्दा केही पर अलग्गै स्थानमा ‘कोभिड ओपीडी सेवा’ सञ्चालन गर्न सुरु गरेको हो ।
आइतबारदेखि नर्भिकको पार्किङ क्षेत्र नजिकै अलग्गै स्थानमा निर्मित भवनमा कोभिड ओपीडी सेवा सञ्चालन भएको मिश्रले जानकारी दिए । कोभिड ओपीडीमा कोभिड भएका वा कोभिड भइसकेकाहरुमा देखिनसक्ने स्वास्थ्य समस्याको विषयमा गुणस्तरीय परामर्श सेवा दिइनेछ । चेस्ट फिजिसियनसहितका विशेषज्ञहरुबाट परामर्श सेवासहित अस्पताल भर्ना गर्नुपर्ने कोभिड संक्रमितहरुलाई त्यही रहेको कोभिड वार्ड तथा कोभिड आईसीयूमा राखी उपचार गरिनेछ ।
कोभिडबाट संक्रमित भई सामान्य स्वास्थ्य समस्या भोग्ने र कोभिडपछि पनि विभिन्न समस्या भोग्नेहरुलाई लक्षित गरी डेडिकेटेड चिकित्सकसहितको ‘कोभिड ओपीडी’ सञ्चालन गर्ने नर्भिक सम्भवतः देशकै पहिलो निजी क्षेत्रको अस्पताल समेत हो । यसअघि नर्भिक तथा अन्य अस्पतालहरुले फिभर क्लिनिक सञ्चालन गरे पनि कोभिड संक्रमितलाई नै लक्षित गरी ओपीडी सेवा नै भने सुरु गरेका थिएनन् । यसअघि नर्भिक अस्पतालले कोभिड भइसकेकाहरुमा देखिने जटिल स्वास्थ्य समस्याको समयमै निराकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘पोस्ट कोभिड प्याकेज’ कार्यान्वयनमा ल्याएको थियो ।