काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा संरक्षक परिषद्का अध्यक्ष डा. शेष घलेले पाएका छन् । महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउन समेत नसकेको संघमा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा घलेलाई दिइएको हो ।
संघको शनिबार बसेको ८१औँ आईसीसी पूर्ण बैठकले दशौँ महाधिवेशन तथा आईसीसीको नयाँ नेतृत्व चयनका लागि घलेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन् । बैठकले संघको दशौँ महाधिवेशन तथा आईसीसी निर्वाचनको कार्यतालिका पनि तय गरेको छ । आगामी २८ फेब्रुअरीमा नयाँ आईसीसीको चुनाव गर्ने गरी यही जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावली संरक्षक परिषद्मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
महाधिवेशन प्रतिनिधिको चयन विधानसम्मत र विगतको अभ्यासअनुसार चयन गर्ने र त्यसको निक्र्योल घले नेतृत्वको समितिको उच्चस्तरीय समितिले गर्ने सहमति भएको छ । आर्ईसीसीको यो निर्णयसँगै कुमार पन्त नेतृत्वको वर्तमान आईसीसी पुनः कामचलाउ भएको छ । यसअघि परराष्ट्र मन्त्रालयले पनि संरक्षक परिषद्लाई नै निर्वाचन र महाधिवेशन गराउने जिम्मेवारी दिएको थियो । त्यसविरुद्ध पन्त अदालत गए पनि उनले चुनाव गराउन नसकेपछि पुनः आर्ईसीसीबाटै संरक्षक परिषद्लाई नै चुनाव र महाधिवेशन गराउने जिम्मेवारी दिएका छन् ।
संघको पछिल्लो निर्णयले सहमतिका लागि आधार तय गरेको अध्यक्षका प्रत्यासी तथा सल्लाहकार कुल आचार्यले बताए । गत अक्टोबरमा नै हुनुपर्ने संघको महाधिवेशन तथा निर्वाचन महाधिवेशन प्रतिनिधि चयनको विवादका कारण नै रोकिएको छ ।