काठमाडौं । अफगानिस्तानको अहिलेको प्रतिकूल मौसम तथा विषम राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी नेपाल सरकारले अफगानिस्तानका जनतालाई मानवीय सहायता सामग्री प्रदान गरेको छ ।
नेपाली जनताका तर्फबाट प्रदान गरिएका मानवीय राहत सामग्री परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले आइतबार अपराह्न काबुलस्थित हमिद कारजायी अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक संक्षिप्त समारोहमा अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघका महासचिवका उपविशेष प्रतिनिधि डा. रामिज अलकबरोभलाई हस्तान्तरण गरेकी हुन् । अफगानिस्तानको अहिलेको विषम राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी त्यहाँका नागरिकलाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता जुटाउन भारतसहितका देशले सहयोग गरेसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्काको अगुवाइमा नेपालबाट औषधि, लत्ताकपडा र घरायसी सामान संकलन गरेर आइतबार काबुल पठाइएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, अवैतनिक महावाणिज्य दूतावास नेपाल, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्सलगायत निजी क्षेत्रका शीर्ष निकाय, संघसंस्था र व्यक्तिले सहायता सामग्री उपलब्ध गराएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त सहयोग सामग्री बोकेर आइतबार हिमालय एअरलाइन्स अफगानिस्तानको काबुल गएको हो । जहाजमा अत्यावश्यकीय राहत सामग्रीहरु औषधिहरू, खाद्यान्न, लत्ताकपडा, जुत्ताहरू, ब्लाङ्केटहरूलगायतका सामग्रीहरू रहेका थिए । काबुल उडान भर्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री डा. नारायण खड्काले मित्रराष्ट्र अफगानिस्तानलाई आइपरेको मानवीय समस्यामा नेपाली जनताका तर्फबाट सहयोगी हात बढाउनु नेपाल सरकारको नैतिक जिम्मेवारी भएको बताए । यस कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उजागर गर्ने विश्वास समेत उनले व्यक्त गरे । साथै यस महान मानवीय कार्यमा पूर्णतया निःशुल्क कार्गो उडानमार्फत सहयोग पु-याएकोमा हिमालय एअरलाइन्सलाई उनले विशेष धन्यवाद समेत दिए ।