काठमाडौं । पर्यटन मन्त्रालयमा विगतको नेतृत्वले गरेको निर्णय भण्डाफोर गरेर चर्चामा आएका पर्यटनमन्त्री प्रेम आलेले पनि लुम्बिनी विकास कोषको गुरुयोजनाविपरीत उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका विवादास्पद व्यवसायी सुरज वैद्यलाई लिजमा रिसोर्ट सञ्चालन गर्न दिएको खुलेको छ ।
टोयोटाको रिकन्डिसन गाडी खरिदबिक्री गर्ने व्यवसायी समेत रहेका टुरिजम बोर्डका विवादास्पद सीईओ डा. धनञ्जय रेग्मीलाई सार्वजनिक रुपमा ललकार्दै दुई/चारवटा टोयोटा गाडीको प्रलोभन देखाएर आफूलाई किन्ने कोशिस नगर्न चेतावनी दिने मन्त्री आलेले विगतको केपी ओली सरकारले भिजिट नेपाल २०२० को कार्यकारी उपाध्यक्ष नियुक्त गरेका विवादास्पद व्यवसायी एवं टोयोटा गाडीको नेपालको आधिकारिक बिक्रेता समेत रहेका वैद्यलाई गुरुयोजनाविपरीत सुटुक्क लुम्बिनीको जग्गा लिजमा दिनुले उनको नियतमाथि प्रश्न उठेको छ ।
स्रोतले उक्त जग्गामा रिसोर्ट बनाउन दिने निर्णय भएको जनाए पनि कोषका सदस्यसचिव सानुराजा शाक्यले सोमबार जारी गरेको प्रेस वक्तव्यमा भने कोषको गुरुयोजनाबाहिर कुनै रिसोर्टको लागि संरचना बनाउन दिने निर्णय नभएको जनाएका छन् ।
स्रोतले भने गत मंसिर ११ गते लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका पर्यटनमन्त्री प्रेम आलेको अध्यक्षतामा बसेको कोषको बैठकले वैद्यको संसारा वेलनेस नेपाल नामक कम्पनीलाई कोषभित्रै रिसोर्ट सञ्चालन गर्न दिने निर्णय गरेको दाबी गरेको छ । रिसोर्ट खोल्न दिने निर्णय भए पनि पर्यटनमन्त्री आलेको कडा निर्देशनमा सो कुरा कोही कसैले पनि बाहिर नबोल्ने र जनतालाई नभन्ने निर्णय भएको थियो । केही समय पहिलासम्म उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा टोयोटा गाडी नेपालको आधिकारिक बिक्रेता समेत रहेका वैद्य लुम्बिनी विकास कोषमा नै उपाध्यक्ष समेत रहेका थिए ।
आफू उपाध्यक्ष हुँदा नै रिसोर्ट खोल्ने अनुमति लिने वैद्यको चाहना विफल भइरहेको समयमा सरकार परिवर्तन भएसँगै वैद्यले पुनः अनुमति लिन लबिङ गर्न थालेका थिए । लुम्बिनी क्षेत्रभित्र रहेको लुम्बिनी ग्रामस्थित श्रीलंकाको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउण्डको जग्गा रिसोर्ट सञ्चालनको लागि वैद्यको कम्पनी संसाराले कोषसमक्ष प्रस्ताव समेत गरेको छ । कोष स्रोतका अनुसार संसारा वेलनेसलाई लुम्बिनीभित्रै जग्गा दिने प्रस्ताव पर्यटनमन्त्री आलेले सिधै मन्त्रिपरिषद् हुँदै कोषको बैठकमा पेश गरेका थिए ।
स्रोतका अनुसार कोषको बैठकमा सो जग्गा संसारा वेलनेसलाई दिन असहमत सदस्यहरुलाई सिधै राजीनामा दिन समेत पर्यटनमन्त्रीले दबाब दिएका थिए । सो दबाबपछि पदाधिकारीहरुले मन्त्री आलेले दबाब दिएको र सो रोक्न एककृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई आग्रह गरेका थिए ।
कोषको बैठकमा विशेष गरी उपाध्यक्ष अवधेशकुमार त्रिपाठी भिक्षु मेत्तेयले विरोध जनाएका थिए र त्यसपछि मन्त्री आलेले निर्णय गर्ने दिन गत मंसिर ११ गते उनलाई समेत नबोलाई संसारा वेलनेसलाई जग्गा दिने निर्णय गराएका थिए । कोष स्रोतका अनुसार त्यसयता उपाध्यक्ष अवधेशकुमार त्रिपाठी विदा लिगेर क्यानडा गएर बसेका छन् ।