काठमाडौं । सरकारको पछिल्लो तीन आर्थिक वर्षको अर्धवार्षिक अवधिमा आम्दानी धनात्मक अवस्थामा देखिएको छ । सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको अर्थ मन्त्रालयले जनाएको छ । सोही अवधिको समग्र खर्च भने मध्यम रहेको जनाएको छ । खर्चमध्ये पनि पुँजीगत खर्च भने उपलब्धिमूलक रहेको छैन ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म राजस्व संकलन कुल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/०७८ मा ४१ दशमलव ७३ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा चार खर्ब ५६ अर्ब १९ करोड रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ मा चार खर्ब २२ अर्ब २४ करोड रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयको अर्थ बुलेटिनमा उल्लेख छ ।
यस्तै चालू आर्थिक वर्ष २०७८/०८९ को पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजस्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव १८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८/०७९ मा पाँच खर्ब ४२ अर्ब पाँच करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको छ । आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म पुँजीगत खर्च १४ दशमलव ८९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिमा १४ दशमलव ४० भएको थियो । आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म पुँजीगत खर्च ६२ अर्ब ७७ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिमा पुँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।
यस्तै चालू आर्थिक वर्ष २०७८/०८९ को पुस मसान्तसम्म पुँजीगत खर्च १३ दशमलव ४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ९६ प्रतिशत कम हो । प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पुँजीगत खर्च अपेक्षाकृत हुन नसकेको हो । चालू आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म पुँजीगत खर्च ५० अर्ब ८० करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिको चालू र वित्तीय खर्चमा भने केही उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म चालू खर्च ३२ दशमलव ३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२ दशमलव ४४ रहेको थियो । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा चालू खर्च ३६ दशमलव ०८ रहेकोमा वित्तीय खर्च १३ दशमलव ०६ प्रतिशत भएको थियो ।
यस्तै चालू आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म चालू खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेको छ । वित्तीय खर्च अघिल्लो वर्षको तुलनामा करिब दोब्बर बढी भएको देखिएको छ ।