महेन्द्र शाही
सोलुखुम्बु, माघ २३
सोलुखुम्बु जिल्लाको विकट गाउँ लोखिममा नै प्राविधिक शिक्षा पढाइ भएपछि जिल्लावासी बाहिर जानुपर्ने बाध्यता हटेको छ । जिल्लामा नै पहिलो पटक थुलुङ दुधकोशी गाउँपालिका ९ को जनता माध्यमिक विद्यालयले ३ वर्षे डिप्लोमा इन बाली विज्ञान चालू शैक्षिक सत्रबाट सुरु गरेसँगै पढाइका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको हो ।
थुलुङदुधकोशी गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी लोखिममा यस वर्षबाट ३ वर्षे बाली विज्ञान पढाइ सुरु गरेको हो । लोखिममा बाली विज्ञानको पढाइ हुनुभन्दा पहिले प्राविधिक शिक्षाका लागि ओखलढुङ्गाको रुम्जाटार जानुपर्ने बाध्यता रहेको थियो । रुम्जाटार माध्यमिक विद्यालयमा समेत सीमित कोटा हुँदा विद्यार्थीले सोचेअनुसारको शिक्षा हासिल गर्न नसकेकाले जिल्लामा नै पहिलो पटक बाली विज्ञानको पढाइ सुरु गरेको विद्यालयका प्रधानध्यापक हस्तबहादुर राइले बताए । अन्य शिक्षाको तुलनामा प्राविधिक शिक्षा पढेर सकिएलगतै रोजगारी पाउने सम्भावना भएकाले प्राविधिक शिक्षा सुरु गरेको गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ ।
सरकारी क्षेत्रमा कृषि मन्त्रालय र मातहतका कार्यालय, गैरसरकारी कार्यलय र नीजि क्षेत्रले सञ्चालन गरेको कृषि तथा ग्रामीण विकाससम्बन्धी कार्यक्रममा सजिलै रोजगारी पाउने जिल्लाको सदरमुका सल्लेरीमा रहेको जनजागृति माध्यमिक विद्यालय सल्लेरीका प्रधानध्यापक मानबहादुर कार्कीले बताए । तीन वर्षे डिप्लोमाका विविध कोर्सहरूलाई त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र सरह मान्यता प्रदान गरेको छ । विकट गाउँमा समेत उच्च प्राविधिक शिक्षा सञ्चालन भएपछि यस क्षेत्रका स्थानीयले विकासको अनुभूति गर्न थालेका छन् ।