काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा व्यहोरेको निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धनको मूल्यवृद्धि गरेको हो ।
निगमले बुधबार राति १२ बजेदेखि नयाँ मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यअनुसार डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्यमा प्रतिकिलोलिटर एक सय अमेरिकी डलर वृद्धि गरेको छ ।
मूल्यवृद्धि भएसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाइ इन्धन (आन्तरिक)को प्रतिलिटर १०६ र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर ९९५ अमेरिकी डलर पुगेको छ । एलपी ग्यासमा अत्यधिक घाटा भए पनि ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा रु. एक अर्ब ८८ करोड घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा छ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ । निगमलाई हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर नौ रुपैयाँ ६३ पैसा, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २९ रुपैयाँ तीन पैसा र मट्टितेलमा प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा छ ।