काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप ४८ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यही माघको पहिलो सातासम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स समेत गरी कुल ६१ वटा संस्थाहरुले ४८ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । सोमध्ये वाणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप पाँच खर्ब ७२ अर्ब रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम भने ४६ खर्ब ५९ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । सोमध्ये वाणिज्य बैंकहरुले मात्र प्रवाह गरेको कर्जा रकम ४१ खर्ब ३९ अर्ब रुपैयाँ छ भने फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम पाँच खर्ब २० अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पाँच महिनाको अवधिमा भने बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप एक दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप छ दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५ दशमलव नौ प्रतिशतले बढेको छ ।
२०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः सात दशमलव एक प्रतिशत, ३१ दशमलव पाँच प्रतिशत र ५४ दशमलव तीन प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः आठ दशमलव एक प्रतिशत, ३३ दशमलव एक प्रतिशत र ५० प्रतिशत रहेको थियो । २०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३९ प्रतिशत रहेको छ । २०७७ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ४२ दशमलव सात प्रतिशत रहेको थियो ।
यसैगरी चालू आवको पछिल्लो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १० दशमलव चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा सात दशमलव एक प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३१ दशमलव दुई प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १० प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १२ दशमलव दुई प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह १७ दशमलव पाँच प्रतिशतले बढेको छ ।
२०७८ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव पाँच प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव चार प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । २०७७ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६ दशमलव तीन प्रतिशत र १२ दशमलव एक प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चाालू आवको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १२ दशमलव एक प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १० दशमलव सात प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा पाँच दशमलव आठ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १० दशमलव नौ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा चार दसमलव नौ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा आठ दशमलव सात प्रतिशतले, ओभरड्राफ्ट कर्जा १७ दशमलव दुई प्रतिशतले, डिमान्ड तथा अन्य चालू पुँजी कर्जा पाँच दशमलव चार प्रतिशतले, रियलस्टेट कर्जा अर्थात् व्यक्तिगत आवासीय घर कर्जा समेत आठ प्रतिशतले, ट्रष्ट रिसिट अर्थात् आयात कर्जा ८.२ प्रतिशतले र हायर पर्चेज कर्जा पाँच दशमलव एक प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा पाँच दशमलव तीन प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।