काठमाडौं । निर्वाचन आयोगले माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनको लागी स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको छ । कोभिड १९ महामारीको संक्रमण बढ्दै गएको बेलामा हुन लागेको निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै मतदान तथा मतगणना कार्य गर्न आयोगले आग्रह गरेको छ । यस्तै निर्वाचनमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायत सबै सरोकारवालाले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड स्वीकृत गरी जारी समेत गरेको छ ।
मापदण्ड अनुसार मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाई मास्क लगाएर मात्र प्रवेश गर्नुपर्नेछ । यस्तै मतदानस्थल प्रवेशअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था गर्नु पर्नेछ । मतदान स्थलमा तापक्रम मापन गर्ने थर्मल गन र आवश्यक स्वास्थ्य सामग्री सहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था हुने र उक्त हेल्थ डेस्कको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नुपर्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार पूर्ण खोप लगाएका कर्मचारी तथा सुरक्षाकर्मीलाई मात्र मतदान स्थल, मतदान केन्द्र र मतगणना स्थलमा खटाइनेछ । मतदाताले मतपत्र प्राप्त गरी गोप्य कक्षमा गई मतदान गरिसकेपछि अनिवार्य रूपमा स्यानिटाइजरको प्रयोग गर्नु पर्ने र मतदान अधिकृतले मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छाप लगायतका मतदान सामग्रीहरूको अनिवार्य रूपमा निस्संक्रमण गर्ने व्यवस्था मिलाउनुपर्नेछ । यस्तै मतदान स्थलमा अनिवार्य रूपमा आवश्यक उपकरण सहितको एक एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने र एम्बुलेन्सको व्यवस्था सम्बन्धित प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट गर्नुपर्ने आयोगले जनाएको छ ।
निर्वाचन हुनुभन्दा ७२ घण्टा अघि मतदाताहरू पिसिआर परीक्षणको लागि कुनै स्वास्थ्य संस्थामा सम्पर्क गर्न पुगेमा प्राथमिकताका साथ परीक्षणको व्यवस्था गरिदिने, मतदान केन्द्रमा अनिवार्य रूपमा आवश्यक मात्रामा मास्क, स्यानिटाइजर, टिस्यु पेपर, साबुन पानी तथा फोहोर राख्ने टोकरीको व्यवस्था गर्ने, प्रत्येक मतदाता मतदान केन्द्रमा प्रवेश गर्नु अघि तापक्रम जाँच गर्नुपर्ने, मतदाताको उच्च तापक्रम देखिएमा र कोभिड १९ संक्रमणको कुनै लक्षण देखिएमा छुट्टै व्यवस्था गरी मतदान गर्ने व्यवस्था मिलाउनु पर्ने, मतपत्रको अर्धकट्टीमा मतदातालाई हस्ताक्षर गराउँदा सकेसम्म मतदाताकै कलमबाट हस्ताक्षर गराउनुपर्ने लगायतका २१ बुँदे स्वास्थ्य मापदण्ड आयोगले जारी गरेको छ ।