अमेरिका । पछिल्ला दिनमा रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने समाचारहरु सार्वजनिक भइरहेका छन् । यदि यसो भए महंगीले अतालिएका अमेरिकीहरुले पेट्रोलियम र डिजेल पम्पमा बढी मूल्य तिर्नुपर्ने हुनसक्ने सीएनएनले जनाएको छ । पछिल्ला केही दिनयता इन्धनको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको छ ।
भर्खरै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस युक्रेनमाथि आक्रमणको संघारमा पुगेको भविष्यवाणी गरिरहेका छन् । यसअघि अमेरिकी इन्टेलिजेन्स रिपोर्टले पनि रुसले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना प्रचुर रहेको खुलासा गरेको थियो । यदि यहीअनुसार भए कच्चा तेलको मूल्य बढ्ने अनुमान गरिएको छ । रुस विश्वको दोस्रो ठूलो तेल उत्पादक देश हो । पहिलो नम्बरमा भने अमेरिका नै रहेको छ । युक्रेन भने मुख्य इनर्जी ट्रान्जिट हब हो जहाँबाट ठूलो परिमाणमा रुसको प्राकृतिक ग्यास युरोपतिर उड्छ ।
तर युक्रेनमाथिको एउटै आक्रमणले पनि रुसको ठूलो ऊर्जास्रोतमाथि वासिङटनको प्रतिबन्ध लाग्न सक्छ । जसले यस क्षेत्रकै ऊर्जा पूर्वाधार र पुटिनको प्राकृतिक ग्यास र कच्चा तेल निर्यातको हतियारलाई क्षति पुग्न सक्छ । आक्रमण भए कच्चा तेलको प्रतिब्यारेल सय अमेरिकी डलरसम्म पुग्नसक्ने बताइएको छ । जुन धान्न गाह्रो पर्नेछ ।