काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको लागि आन्तरिक ऋणको निष्काशन तालिका सार्वजनिक गरेको छ । चालू आवको छ महिना व्यतित भएपछि राष्ट्र बैंकले शुक्रबार आन्तरिक ऋणको निष्काशन तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार चालू आर्थिक वर्ष अर्थात् आगामी असार मसान्तसम्ममा सरकारको लागि दुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । गत आर्थिक वर्षमा भने राष्ट्र बैंकले सकारको लागि दुुई खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो । चालू आवका लागि उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले अल्पकालीन तथा दीर्घकालीन अवधिका ट्रेजरी बिलहरु, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका मौद्रिक उपकरणहरु बिक्री गर्ने तयारी गरेको छ ।
यसअन्तर्गत दोस्रो त्रैमासमा छ अर्ब, तेस्रो त्रैमासमा एक खर्ब ५० करोड र चौंथो त्रैमासमा एक खर्ब ३२ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाइने राष्ट्र बैंकले जानकारी दिएको छ ।
सोअनुरुप चालू आर्थिक वर्षमा राष्ट्र बैंकले २८ दिने, ९१ दिने, एक सय ८२ दिने र तीन सय दिने समेत गरी कुल एक खर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । जसमध्ये दोस्रो त्रैमासमा छ अर्ब, तेस्रो त्रैमासमा ४४ अर्ब र चौथो त्रैमासमा ५५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।
विकास ऋणपत्रतर्फ भने दुई वर्षे, चार वर्षे, पाँच वर्षे र छ वर्षे समेत गरी कुल एक खर्ब २९ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाइनेछ । सोमध्ये तेस्रो त्रैमासमा ५४ अर्ब ५० करोड र चौथो त्रैमासमा ७५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने राष्ट्र बैंकको भनाइ छ । यीबाहेक आगामी असार मसान्तसम्ममा चार अर्ब रुपैयाँ बराबरको पाँच वर्षे अवधिको नागरिक बचतपत्र बिक्री गर्ने तयारी पनि राष्ट्र बैंकले गरेको छ । जसअन्तर्गत तेस्रो त्रैमासमा दुई अर्ब र चौथो त्रैमासमा दुई अर्ब रुपैयाँको बचतपत्र बिक्री गरिनेछ । लक्ष्यअनुरुपको आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले चालू आवको चौथो त्रैमासमा ५० करोड रुपैयाँबराबरको पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र पनि बिक्री गर्नेछ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको लागि उठाइने कुल आन्तरिक ऋणमा ट्रेजरी बिलको अंश ४३ दशमलव नौ प्रतिशत, विकास ऋणपत्रको अंश ५४ दशमलव दुई प्रतिशत, नागरिक बचतपत्रको अंश एक दशमलव ६७ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको अंश ०.२१ प्रतिशत छ ।