काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा नेटवर्किङ मार्केटिङअन्तर्गतको कारोबार तथा व्यवसाय गैरकानुनी रहेको भन्दै त्यस्तो कारोबार नगर्न नगराउन आम नागरिकलाई सचेत गराएको छ । आइतबार सूचना जारी गर्दै राष्ट्र यस किसिमको गैरकानुनी कार्य नगर्न नगराउन सचेत गराएको हो ।
सूचनामा भनिएको छ, ‘हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीहरुको कारोबार प्रयोग गर्न तथा त्यस्ता भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीहरुसँग सम्बन्धित हाइपर फण्डजस्ता कोषमा लगानी गर्न जोसियल, क्राउड १, सोलम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङमा आबद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको जानकारी प्राप्त हुुन आएकाले सो सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालमा विदेशी विनियम वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपयुक्तबमोजिमका गैरकानुनी वित्तीय औजारमा अबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजीको पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि राष्ट्र बैंकले दिएको छ ।