काठमाडौं । राजधानी काठमाडौँदेखि जिल्ला सदरमुकाम चरीकोट जोड्ने मुडे–चरीकोट ३० किलोमिटर सडक भने छ वर्षदेखि अलपत्र छ । २०७२ सालमा दुई वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको उक्त सडक छ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।
बर्खामा हिलाम्मे तथा हिउँदमा धुलाम्मे हुँदा दैनिक सयौँ यात्रु सास्ती खेप्दै यात्रा गरिरहेका छन् । मुडे–चरीकोट सडकखण्डको ठेकेदारले समयमा काम नगर्दा पटक–पटक हर्जना तिर्दै आएको छ । छ वर्ष बित्दा पनि सडक निर्माण हुन नसकेको भन्दै जिल्लाका नागरिकले सडक निर्माणको माग गर्दै पटक–पटक आन्दोलन समेत गर्दै आएका छन् ।
सरकारले यस सडकको ठेक्का समेत तोड्ने तयारी गरेको थियो । ठेक्का तोड्ने थाहा पाएपछि अहिले भने ठेकेदारले सडक निर्माणको काम सुरु गरेको छ । पुसमा सरकारले तत्काल काम सुरु नगरे ठेक्का सम्झौता खारेज गर्ने चेतावनी दिएपछि ठेकेदारले पुस अन्तिम सातादेखि सडकको काम सुरु गरेको हो ।