काबुल । अफगानिस्तानको एयर करिडोर अवरूद्ध भएकाले हवाइ पारवहनको अभावका कारण यहाँको स्थानीय सामान निर्यातमा समस्या भएको बताइएको छ ।
अफगानिस्तानको चेम्बर अफ कमर्स एण्ड इन्भेष्टमेन्ट (एसीसीआई) ले आइतबार जारी वक्तव्यअनुसार एअर करिडोर अवरूद्ध हुँदा उडानहरू स्थगित गर्नुपरेको र विदेश पठाउनुपर्ने सामान आपूर्तिमा चुनौती सिर्जना भएको हो ।
टोलो न्युजका अनुसार अधिकारीहरूले समस्या समाधान गर्न प्रयास गरिरहेका छन् तर अहिलेसम्म कुनै प्रगति हुनसकेको छैन । एसीसीआईका उपप्रमुख खरिरुद्दिन मयलले भने, ‘एसीसीआईले सुविधा र सुगमता ल्याउने प्रयास गर्दै आएको छ तर अहिलेसम्म प्रगति भएको छैन ।’
तत्कालीन सरकार ढल्नुअघि अफगानी सामानलाई काबुल, कान्दहार, बाल्ख र हेरात गरी चार प्रान्तका विमानस्थलहरूबाट हवाई मार्गमार्फत् विश्व बजारमा पु-याइन्थ्यो । यसैबीच, धेरै व्यापारीले तालिवानलाई सो समस्या समाधान गर्न र हवाइ कोरिडोरमार्फत विश्व बजारमा सामान निर्यात गर्न सहज बनाउन आग्रह गरे पनि सरकार सञ्चालनको अनुभव लिँदै गर्दा यसमा पर्याप्त ध्यान दिनसकेको छैन ।
एसीसीआईको तथ्यांकअनुसार विगत पाँच वर्षमा एक हजार आठ सय उडानहरूले हवाइ मार्गमार्फत छ करोड अमेरिकी डलर मूल्यका सामानहरू भारत, संयुक्त अरब इमिरेट्स, चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीलगायत विभिन्न देशहरूमा पु-याएका थिए ।