काठमाडौं, माघ २३
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको एक प्रतिनिधिमण्डल अटो एक्स्पो–द मोटर शोमा भाग लिन दिल्ली प्रस्थान गरेको छ । सोसाइटी अफ इण्डीयन अटोमोबाइल मेनुफेक्चर्स र अटोमोटिभ कम्पानेन्ट मेनुफेक्चरर्स एसोसिएसनको निमन्त्रणामा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुसहित १५० सदसिय नाडाको प्रतिनिधिमण्डल बुधबार दिल्ली प्रस्थान गरेको नाडाले जानकारी दिएको छ । नाडाका अनुसार फेबु्रअरी ६ देखि ९ सम्म दिल्लीको प्रगति मैदानमा कम्पानेण्टहरुको र फे्रवु्रवरी ७ देखि १२ सम्म ग्रेटर नोएडामा अटो एक्स्पो–द मोटर शो २०२० शुभारम्भ हुदैछ ।
फेबु्रअरी ६ मा गे्रटर नोएडामा भारतका सडक यातायात, हाइवे र माइक्रो, स्मल एण्ड मिडियम इण्टरप्राइजेज मन्त्री नितीन गडकरीले सो प्रदर्शनीको उद्घाटन गर्नेछन् । सोसाइटी अफ इण्डीयन अटोमोबाइल मेनुफेक्चरर्सको पहलमा फेबु्रअरी ७ मा दक्षिण एसियाली अटोमोबाइल एसोसिएसनहरुको साउथ एसियन अटोमोटिभ फोरम गठनका लागि सम्झौतामा हस्ताक्षर हुनेछ । उक्त फोरममा भारतलगायत नेपाल बङ्गलादेश, श्रीलंका र म्यान्मार समेतको सहभागिता रहनेछ । फोरमको गठन, दक्षिण एसियाको अटोमोबाइल क्षेत्रको इतिहासमा कोशेढुङ्गा हुने नाडाले विश्वास लिएको छ ।