काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औँ वार्षिकोत्सव समारोह अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आथित्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट सोमबार सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले वित्तीय व्यवस्थापन आफैँमा चुनौतीपूर्ण भए पनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरी व्यावसायिकरूपमा अगाडि बढिरहेको बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा थप योगदान गर्नुुपर्ने बताए । उनले बैंकले आगामी दिनमा प्रविधिमार्फत दिइने बैंकिङ सेवाले ग्राहकको आकांक्षाबमोजिम ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताए ।
प्रमुख अतिथि एवं अर्थमन्त्री शर्माले कार्यक्रममा यूएसएसडी मोबाइल बैंकिङको डिस्प्ले गरी सेवा शुभारम्भ गर्दै यसले इन्टरनेट नभएको स्थानमा पनि वित्तीय पहँुचको विस्तार हुने बताए । बैंकको ५७औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०७८ भर्चुअल माध्यमबाट विमोचन गरेका थिए । सोही दिनबाट बैंकले अब सीमित कारोबारको लागि शाखामा जान नपर्ने गरी बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले दुई लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्नेगरी सबै शाखा कार्यालयहरूको काउन्टरमा स्र्माट क्यूआर टेलर सेवाको शुभारम्भ गरेको छ ।
कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा आफू समेत सहभागी भई कदमहरू चालिएकोले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधारभई उत्पादकत्व बढेको र पुनः आउनसक्ने चुनौतीको सामना गर्न बैंक तयार भइरहनुपर्ने बताए । उनले अहिलेको अवस्थामा जोगिएर प्रणालीलाई जोगाउनुपर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाले तल्लो वर्गका नागरिकका जीवनस्तर उकास्ने गरी लगानी गर्न आग्रह गरे । बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले आफ्नो वित्तीय अवस्था तथा परिसूचकहरू उत्कृष्टरूपमा प्रस्तुत गर्न सफल यो बैंक बैंकिङ क्षेत्रका सबै क्षेत्रमा नेतृत्वदायी भूमिका वहन गर्न सफल भएको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनु हुँदै बैंकले डिजिटल सेवालाई जोड दिइरहेको बताए । उनले २०७७ पुस मसान्तसम्म बैंकले दुई खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब १४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बताए । कार्यक्रममा बैंकमा क्रियाशील तीनवटै ट्रेड युनियनका अध्यक्षहरू क्रमशः रावा बैंक कर्मचारी संघ नेपालका काबा अध्यक्ष रामप्रसाद जोशी, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रावा बैंकका वरिष्ठ उपाध्यक्ष मिलनबाबु नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना व्यक्त गरेका थिए ।
आजभन्दा ५७ वर्षअघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको यो वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक हो । हाल देशभर बैंकका दुई सय ५८ वटा शाखा कार्यालय, दुई सय ४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् । कार्यक्रममा कर्मचारी सम्मान कार्यक्रम, बैंकका २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदक घोषणा गरिएको थियो । ५७औँ वार्षिकोत्सवको अवसरमा गत माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा देशैभरिबाट दुर्ई सय ४९ जना रक्तदाताहरूले रक्तदान गरेका थिए ।
भर्चुलअ माध्यमबाट सञ्चालन गरिएको कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, अर्थ सचिव मधुकुमार मरासिनी, राजस्व सचिव कृष्णहरि पुष्कर, डेपुटी गभर्नरहरू, सेयरधनीहरू, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, बैंक सञ्चालक समितिका सदस्यहरू, विभिन्न संस्थानहरूका प्रमुखहरू, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय कविराज अधिकारीे, देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, ब्रान्ड एम्बासडर एवं मिस नेपाल नम्रता श्रेष्ठ, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरू लगायत कर्मचारीहरूको भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।