काठमाडौं । राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले अमेरिकी डलर अपचलनमा संलग्न भएको अभियोगका आधारमा चार जना व्यक्तिविरुद्ध ३७ करोड करोड ३४ लाख रुपैयाँ बिगोसहित मुद्दा दायर गरेको छ । विभागले सोमबार कैलाली लम्किचुवा १० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल गुरुङ्टोलमा बस्ने दिनेश खड्का, दिनेश खड्काको दिदी प्रतिवादी भगवती खड्का तथा बुवा प्रतिवादी नर बहादुर खड्का र दिनेश खड्काको केटी साथी अनिता धिताल समेतको नाउँमा तीन वर्षको कैद सजाय र ३७ करोड ६४ लाख ११ हजार एक सय रुपैयाँ बिगो माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
प्रतिवादी दिनेश खड्का, प्रतिवादी दिनेश खड्काको दिदी प्रतिवादी भगवती खड्का तथा बुबा प्रतिवादी नरबहादुर खड्काको बयान, विभिन्न बैंकका बैंक स्टेटमेन्टहरु, बरामद मोबाइलमा प्राप्त मिसिल संलग्न डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट प्रतिवादी दिनेश खड्का समेतका विरुद्ध खण्डमा उल्लिखित प्रतिवादीहरूले सामूहिक रुपमा मिलेमतो गरी मोबाइल एप्स प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेको तथा उनको दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र उनको केटी साथी अनिता धिताल समेत यो कार्यमा संलग्न रही सामूहिक रुपमा काठमाडौंको कालोपुल समेतमा डलरको अनलाइनमार्फत अवैध रुपमा कारोबार गरेको देखिएको विभागले जानकारी दिएको छ ।
प्रतिवादी दिनेश खड्काले इ–स्क्रिल, बाइनान्समार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी प्रतिवादी दिनेश खड्काको ग्लोबल बैंक समेतबाट नौ करोड ७९ लाख ९८ हजार पाँच सय एकासी रुपैयाँ, अनिता धितालको लक्ष्मी बैंक समेतबाट पाँच करोड ७७ लाख छ हजार आठ सय २६ रुपैयाँ, भगवती खड्काको एनआईसी एसिया बैंक समेतबाट २० करोड ४२ लाख ९४ हजार पाँच सय २६ रुपैयाँ र नरबहादुर खड्काको ग्लोबल आईएमई बैंकबाट एक करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँ समेत गरी कुल बिगो ३७ करोड ६४ लाख ११ हजार एक सय रुपैयाँ नेपाल राष्ट्र बैंकको २०७८ पुस ११ गतेको सूचनाअनुसार एक अमेरिकी डलरको एक सय २० रुपैयाँ ३४ पैसाको दरले कुल बिगो रकम ३७ करोड ६४ लाख ११ हजार एक सयको हुन आउने अमेरिकी डलर ३१ लाख २७ हजार आठ सय ९६ रकम यी प्रतिवादी दिनेश खड्का समेतले विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा ३ को उपदफा ९१०, दफा ४ को उपदफा ९१०, दफा ५ को उपदफा ९१० र दफा १२ बमोजिम नेपाल राष्ट्र बैंकको सूचना समेतले निषेधित कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी दिनेश खड्कालाई सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा (९) बमोजिम तीन वर्षसम्मको कैद सजायको मागदाबी लिइएको जानकारी पनि विभागले दिएको छ ।