काठमाडौं । नेको इस्न्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा ७० प्रतिशत दाबी भुक्तानी गरेको जानकारी दिएको छ । निर्जीवन बीमा बजारमा विगत २६ वर्षदेखि सेवा पु¥याउँदै आएको कम्पनीले ग्राहकहरूलाई छिटोछरितो सेवा दिने प्रतिबद्धताबमोजिम २०७८ असार मसान्तसम्ममा बाँकी दाबीहरूमध्ये चालू आवको छ महिनाको अवधिमा करिब ७० प्रतिशत दाबी भुक्तानी गरेको जानकारी दिएको हो ।
कम्पनीका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा मोटर बीमामा ३३ करोड, इन्जिनियरिङ बीमामा तीन करोड ३५ लाख, कृषि बीमामा करिब तीन करोड, सम्पत्ति बीमामा करिब १० करोड, सामुद्रिक बीमामा करिब दुई करोड र विविध बीमामा सात करोड रुपैयाँ समेत गरी कुल ६० करोड रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले समयमा दाबी भुक्तानी गरेको परिणामस्वरूप ग्राहकको विश्वास जित्न सफल भई कम्पनीको व्यवसायमा पनि गत वर्षको तुलनामा चालू आर्थिक वर्षको छ महिनासम्ममा १८ प्रतिशतले वृद्धि गर्न सफल भएको जानकारी दिएको छ । त्यसैगरी कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव बीमा समितिमा पठाएको छ ।