काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी लवराज ओलीलाई पक्राउ गरेको छ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्वर ८ घर भएका ४० वर्षीय ओलीलाई बैंकिङ कसुर मुद्दामा बुधबार नुवाकोटको गुर्जुभञ्ज्याङ्गबाट पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ ।
सीआईबीका अनुसार ओलीले ज्योति विकास बैंक लिमिटेड (साबिकको हाम्रो विकास बैंक लिमिटेड) मा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुनसकेको थिए । सोहीअनुसार उच्च अदालत पाटनबाट वि.सं. २०७७ फागुन २३ गते प्रतिवादी ओलीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा चार दिन कैद र नौ लाख ६३ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।
फैसलालगत्तै फरार भएका ओलीलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले नुवाकोट शिवपुरी गा.पा. वडा नं ६, गुर्जुभञ्ज्याङ्गबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जानकारी दिएको छ ।