स्लोभाकिया । उड्नसक्ने र गुड्नसक्ने गरी निर्माण गरिएको ‘एयर कार’ले उड्ने अनुमति प्राप्त गरेको छ । यो कारले उडानको सबै परीक्षण चरण पार गरेको सीएनएनले जनाएको छ ।
स्लोभाकियामा विकसित यो कारलाई द स्लोभाक ट्रान्सपोर्ट अथोरिटीले उड्न सक्ने आधिकारिक प्रमाणपत्र प्रदान गरेको हो । यसले ७० घण्टाको उडान परीक्षण पार गरेको कम्पनी क्लेन भिजनले जनाएको छ । यो डुअल मोडको कार अर्थात् कार र एयरक्राफ्ट साधन हो । परीक्षण चरणमा यसले दुई सय पटक उडान र अवतरण गरेको थियो । जुन युरोपेली हवाइ सुरक्षा संस्थ (ईएएसए)को मापदण्डअनुसार रहेको छ ।
क्लेन भिजनका अनुसार यसलाई उडाउन भने पाइलटको लाइसेन्स लिएको हुनुपर्ने भएको छ । कम्पनीले १२ महिनाभित्र एयर कारको व्यावसायिक उपलब्धता हुने दाबी गरेको छ । आठ जना विशेषज्ञको समूहले एक लाख घण्टा लगाएर यसको डिजाइन कन्सेप्टलाई म्याथमेटिकल मोडलमा रुपान्तरण गर्न सकेको थियो जसले यसको प्रोटोटाइप उत्पादन भएको थियो ।
एयरकारमा १.६ लिटरको बीएमडब्ल्यू इन्जिन छ भने जुनसुकै पेट्रोलियम स्टेसनबाट इन्धन भर्न सकिने कम्पनीले जनाएको छ । यो कारले अधिकतम १८ हजार फिट उचाइमा उडान भर्न सक्छ । गत जुनमा यसले स्लोभाकियाको राजधानी ब्राटिस्लाभा र नित्राबीचको एयरपोर्टमा ३५ मिनेट लामो परीक्षण उडान गरेको थियो । अवतरणपछि एयरकार कारमा रुपान्तरित भएको थियो। जुन गुडेर सिटी सेन्टरसम्म पुगेको थियो ।
उडान अनुमतिले अब यसको धेरै उत्पादनको बाटो खुलेको परीक्षण उडान गराएका पाइलट स्टेफान क्लेनले बताए । उनी नै कारका अन्वेषक र विकास समूहका मुख्य व्यक्ति पनि हुन् ।