काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वर्षे अवधिको १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्रको बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार माघ १६ गते अपराह्न २ बजेसम्ममा बोलकबोलको माध्यमद्वारा विकास ऋणपत्र २०८२ ङ (चार वर्षे) बिक्री गरिएको हो ।
सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा निष्काशन गरिएको ऋणपत्रको निष्काशन मिति माघ १७ तोकिएको छ भने ऋणपत्रको परिपक्व हुुने अर्थात् सावाँ भुक्तानी हुने अवधि २०८२ माघ १७ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गर्नसक्ने व्यवस्था गरिएको थियो ।
छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको थियो । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने व्यवस्था तोकिएको थियो । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था छ ।
खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्नसक्ने व्यवस्था तोकिएको थियो । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन पाउने व्यवस्था छ । यस बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षमा सरकारको लागि दुुई खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना अघि सारेको छ । सोहीअनुुरुप चालू आवको लागि उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले अल्पकालीन तथा दीर्घकालीन अवधिका ट्रेजरी बिलहरु, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका मौद्रिक उपकरणहरु बिक्री गर्ने तयारी गरेको छ । यसअन्तर्गत दोस्रो त्रैमासिकमा छ अर्ब, तेस्रो त्रैमासिकमा एक खर्ब ५० करोड र चौथो त्रैमासिकमा एक खर्ब ३२ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाइने योजना राष्ट्र बैंकको छ ।
सो अनुरुप चालू आर्थिक वर्षमा राष्ट्र बैंकले २८ दिने, ९१ दिने, एक सय ८२ दिने र तीन सय दिने समेत गरी कुुल एक खर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको छ । जसमध्ये दोस्रो त्रैमासिकमा छ अर्ब, तेस्रो त्रैमासिकमा ४४ अर्ब र चौथो त्रैमासिकमा ५५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । विकास ऋणपत्रतर्फ भने दुई वर्षे, चार वर्षे, पाँच वर्षे र छ वर्षे समेत गरी कुल एक खर्ब २९ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण उठाइनेछ ।
सोमध्ये तेस्रो त्रैमासिकमा ५४ अर्ब ५० करोड र चौथो त्रैमासिकमा ७५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने राष्ट्र बैंकको भनाइ छ । यीबाहेक आगामी असार मसान्तसम्ममा चार अर्ब रुपैयाँबराबरको पाँच वर्षे अवधिको नागरिक बचतपत्र बिक्री गर्ने तयारी पनि राष्ट्र बैंकले गरेको छ । जसअन्तर्गत तेस्रो त्रैमासिकमा दुई अर्ब र चौथो त्रैमासिकमा दुई अर्ब रुपैयाँको बचतपत्र बिक्री गरिनेछ । लक्ष्यअनुरुपको आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले चालू आवको चौथो त्रैमासिकमा ५० करोड रुपैयाँबराबरको पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र पनि बिक्री गर्नेछ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको लागि उठाइने कुल आन्तरिक ऋणमा ट्रेजरी बिलको अंश ४३ दशमलव नौ प्रतिशत, विकास ऋणपत्रको अंश ५४ दशमलव दुई प्रतिशत, नागरिक बचतपत्रको अंश एक दशमलव ६७ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको अंश ०.२१ प्रतिशत रहेको छ ।
१० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप लगानी आह्वान
नेपाल राष्ट्र बैंकले १० करोड ४८ लाख रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार विभिन्न कोषमा रहेको रकम सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरु समेतले लगानी गर्नसक्ने गरी प्रस्ताव आह्वान गरिएको हो ।

रकम लगानीको लागि सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुले यही माघ १८ गतेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रुपमा राख्न चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार यसरी राखिने रकमको अवधि तीन सय ६५ दिन अर्थात् २०७८ फागुन २ गतेदेखि २०७९ फागुन १ गतेसम्मको लागि हुुनेछ ।
लगानीको लागि छुट्याइएको कुुल रकममध्ये वाणिज्य बैंकहरुको लागि आठ करोड ३९ लाख, विकास बैंकहरुको लागि एक करोड ५७ लाख र फाइनान्स कम्पनीहरुको लागि ५२ लाख रुपैयाँ छुट्याइएको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्थापछि)मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुुुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।