अमेरिका । गोल्डम्यान स्याकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेभिड सोलोमनको सन् २०२१ को कुल तलब तीन करोड ५० लाख अमेरिकी डलर हुने बैंकले जनाएको छ ।
यो तलब उनले सन् २०२० मा बुझेभन्दा झण्डै दोब्बरले बढी हो । उनले सो वर्ष एक करोड ७५ लाख डलर तलब बुझेका थिए । बैंकको बोर्डले त्यसपछि १मलेसिया डेभलपमेन्ट बीएचडी भ्रष्टाचार काण्डमा बैंकको भूमिकाबारेको लफडा मिलाउन दुई करोड ७५ लाख डलरबाट एक करोड डलर घटाएको थियो ।
उनको सन् २०२१ का लागि कुलमध्ये २० लाख डलर वार्षिक आधार तलब र अन्यतर्फ ३ करोड ३० लाख डलर हुनेछ । यसको ७० प्रतिशत सेयरमा आधारित हुनेछ ।
अन्य ठूला वालस्ट्रिट बैंकहरुले पनि आफ्ना सीईओलाई ठूलै परिमाणमा तलब खुवाउँदै आएका छन् । मोर्गान स्ट्यान्लेले पनि सीईओ जेम्स गोरम्यानको तलब बढाएर साढे तीन करोड अमेरिकी डलर पु-याएको छ भने जेपीमोर्गानले ज्यामी डाइमनको तलब बढाएर तीन करोड ४५ लाख डलर पु-याएको छ ।
सोलोमनले सन् २०१८ मा सीईओ बनेयता राजस्वलाई विविधीकरण गरेका छन् ।