अमेरिका ।अर्बपति इलोन मस्कले एक जना १९ वर्षीय किशोरलाई पाँच हजार अमेरिकी डलर दिने अफर गरेका छन् ।
सीएनएनका अनुसार अमेरिकी राज्य फ्लोरिडाका ज्याक स्विनी नामक ती किशोरलाई संसारकै धनी मस्कले आफ्नो विमान उडान ट्र्याक नगरिदिनको लागि उक्त अफर गरेका हुन् ।
तर ती किशोरले भने अफर अस्वीकार गरेका छन् । ज्याकलाई मस्कले उनको ट्विटर एकाउन्ट डिलेट गर्नका लागि उक्त डलरको अफर गरेका थिए । ज्याकको एकाउन्टले मस्कको निजी जेट ट्राक गथ्र्यो। ती किशोरको इलोनजेट नामक एकाउन्टका डेढ लाख फलोअर छन् । ज्याकले एक बोट विकास गरेका छन् जसले मस्कको उडान अनुगमन गर्छ । त्यसपछि ट्विटर फिडमा उनी कहिले र कहाँ पुग्छन् हरेक यात्राबारे ट्विट गर्छ ।
ज्याकले अन्य दर्जन बढी उडान ट्रयाक गर्ने बोट एकाउन्ट खोलेका छन्। ठूला प्राविधिक क्षेत्रका हस्तीहरु बिल गेट्स, जेफ बेजोसलगायतलाई पनि ज्याकले ट्रयाक गर्छन्। गत नोभेम्बर ३० मा मस्कले उनलाई सिधै म्यासेज गरेका थिए ।मस्कले ज्याकलाई पठाएको सन्देशमा यसलाई सुरक्षा जोखिम बढ्ने भएकाले हटाइदिन आग्रह गरेका थिए । टेस्ला र स्पेस एक्सका सीईओ मस्कले यसका लागि उनलाई पाँच हजार डलर अफर गरेका थिए ।
तर त्यसलाई अस्वीकार गरेका ज्याकले भने ५० हजार डलर मागेको र त्यो पैसा आफ्नो कलेज अध्ययनका लागि वा टेस्ला मोडल ३ कार किन्नका लागि प्रयोग गर्ने प्रत्युत्तर दिएका थिए । पछि यी दुईबीच जनवरी १९ मा संवाद भएको थियो ।