नयाँ दिल्ली । नयाँ वर्षको पहिलो महिनामा टाटा मोटर्सको बिक्री २७ प्रतिशतले बढेको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय बजारसहित वर्षगत तुलनामा टाटाका गाडीको बिक्री उक्त दरले बढेर ७६ हजार दुई सय १० युनिट पुगेको मंगलबार कम्पनीले जानकारी दिएको हो ।
कम्पनीको सन् २०२१ जनवरीमा कुल बिक्री ५९ हजार आठ सय ६६ रहेको थियो । घरेलु बजारमा समेत टाटाको बिक्री २६ प्रतिशतले बढेर ७२ हजार चार सय ८५ युनिट पुगेको छ । अघिल्लो वर्ष यस्तो बिक्री ५७ हजार छ सय ४९ वटा थियो ।
यसमा कुल पेसेन्जर भेहिकलतर्फ ४० हजार ७७७ युनिट बिक्री भएको छ । अघिल्लो वर्ष यस्तो बिक्री २६ हजार नौ सय ७८ मात्र थियो । यता टाटाले गत महिनामा विद्युतीय गाडीको बिक्री पाँच गुणाले बढेको जनाएको छ । कम्पनीका अनुसार गत वर्ष जनवरीमा पाँच सय १४ युनिटमात्र बिक्री गरेको टाटाले यो वर्ष जनवरीमा दुई हजार आठ सय ९२ वटा विद्युतीय गाडी बेचेको जनाएको छ ।
त्यस्तै कुल कमर्सियल भेहिकलतर्फ गत महिना ३५ हजार दुई सय ६८ वटा सवारीसाधन बिक्री गरेको छ । गत वर्ष यही अवधिमा ३२ हजार आठ सय १६ वटामात्र बिक्री भएको थियो ।