काठमाडौं । एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ, जसमा ग्राहकले छोटो समय अर्थात् १५ मिनेट र दुई घण्टाका लागि डेटा सेवा लिन सक्छन् ।
कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात् एक घण्टा समयावधि भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ । कम्पनीले आफ्ना ग्राहकलाई उनीहरुको आवश्यकताअनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डेटा प्याक ल्याएको हो । आफ्ना अनलाइन गतिविधिहरूका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी प्याकहरु उत्तम विकल्प हुन् । यस योजनामा ग्राहकले करसहित १० रुपैयाँमा १५ मिनेटको डेटा प्याक पाउँछन् ।
त्यसैगरी दुई घण्टाको डेटा प्याक ३० रुपैयाँमा लिन सक्छन् । यी प्याकहरु सुचारु रहेको अवधिमा ग्राहकले एक एमबीपीएसको गतिमा मोबाइल इन्टरनेट सेवा पाउँछन् । ग्राहकले सजिलैसँग एष्ट्रिक्स१७१२३ह्यास डायल गरी वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू लिनसक्ने कम्पनीले जनाएको छ । यदि ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिन्छ । त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा पे एज यू गोको दर अनुसार डेटा शुल्क लाग्छ ।
ननस्टप टाइम प्याकहरूले विशेषगरी अनलाइनमार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबारजस्ता कार्यहरु गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकहरूको सुरक्षित पहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ । करसहित २२ रुपैयाँ पाइने एक घण्टाको डेटा प्याक ग्राहकहरुले पहिलादेखि नै मन पराउँदै आएका छन् । यी टाइम प्याकहरूको समयवधि ग्राहकले प्याक सुचारु गरेको समयको आधारमा गणना गरिन्छ । उदाहरणका लागि, यदि कुनै ग्राहकले १ बजे २ घण्टाको टाइम प्याक खरिद गर्दछ भने उसको प्याक प्रयोगको समयसीमा ३ बजेसम्म मान्य हुन्छ । आफ्नो डेटा कनेक्टिभिटीको आवश्यकताअनुसार, ग्राहकहरूले यी प्याकहरू जति पटक लिन सक्छन् ।