काठमाडौं । काठमाडौंको जमलमा रहेको ग्रिनलाइन सेन्टरमा चार बैंकको ८० करोड रुपैयाँ कर्जा डुबेको छ । एभरेष्ट बैंक, मेगा बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले उक्त कम्पनीलाई चालू पुँजी शीर्षकमा कर्जा दिएको र कर्जा लिएका कम्पनीका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल विगत एक महिनादेखि फरार भएपछि चार बैंकको झण्डै ८० करोड रुपैयाँ कर्जा डुबेको हो ।
राष्ट्र बैंक स्रोतका अनुसार उक्त कम्पनीमा प्रवाह भएको कर्जाको बारेमा नेपाल राष्ट्र बैंकले पनि सूक्ष्मरुपमा अनुसन्धान गरिरहेको छ । ‘उक्त कम्पनीलाई मेगा बैंकले २४ करोड, ग्लोबल आईएमई बैंकले सात करोड, एभरेष्ट बैंकले २० करोड र नेपाल इन्भेष्टमेन्ट बैंकले ३० करोड रुपैयाँ कर्जा दिएको देखियो’, राष्ट्र बैंक स्रोतले भनेको छ ।
ग्रिनलाइन सेन्टरले ब्राण्डेड रक्सीहरुको व्यापार गर्दै आएको र त्यही व्यापारलाई देखेर बैंकहरुले पर्याप्त मात्रामा धितो नै नलिईकन चालू पुँजी शीर्षकमा कर्जा दिएको देखिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । अनुसन्धानका क्रममा एभरेष्ट बैंकले भने चालू पुँजी शीर्षकमा कर्जा दिए पनि ग्रिनलाइन सेन्टरको कम्पनीको घर नै धितो राखेर कर्जा दिएको देखिएको छ । सोही आधारमा उक्त कर्जा प्रकरणमा एभरेष्ट बैंकलाई कर्जा उठाउनको लागि पर्याप्त धितो रहे पनि अन्य तीन वटा बैंकलाई भने कर्जा उठाउन समस्या हुने देखिएको छ ।
कम्पनीका सञ्चालक अग्रवाल विगत एक महिनादेखि फरार भएपछि आफ्नो कर्जा असुरक्षित भएको ठान्दै २०७८ पुस २१ गते नै एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ग्रिनलाइन सेन्टरको गोदाममा छापी मारी सिल गरेको जानकारी पनि राष्ट्र बैंक स्रोतले दिएको छ । अहिले भने उक्त कम्पनीलाई कर्जा दिने ग्लोबल आईएमई बैंक र मेगा बैंकले पनि ग्रिनलाइन सेन्टरमा कर्जा चुक्ता गर्नको लागि सूचना टाँस गर्दै सिल गरेका छन् ।
राष्ट्र बैंक स्रोतका अनुसार ऋणी ग्राहक फरार भएपछि बैंकले गत पुस २२ अग्रवालद्वयलाई खोजी गरिपाऊँ भन्दै केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी), महानगरीय अपराध महाशाखा मीनभवन, महानगरीय प्रहरी परिसर काठमाडौं आदिमा जाहेरी दर्ता गराएका छन् । बैंकहरुले जाहेरी दर्ता गरेपछि अग्रवालद्वयबाट आफूहरु पनि ठगिएको भन्दै उजुरी दिन थालेको सीआईबी स्रोतले बताएको छ । सीआईबी स्रोतका अनुसार बैंकहरुको ८० करोड रुपैयाँ डुबाएका अग्रवालद्वयले घरजग्गा बेचेर तिर्ने भन्दै केही उद्योगी, व्यवसायी र सर्वसाधारणहरुबाट समेत झण्डै एक अर्ब रुपैयाँ ठगेर फरार भएको देखिएको छ ।