काठमाडौं । राहदानी विभागको अनलाइन फर्म कीर्ते गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सोल्टिमोड बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ घर भएका ३५ वर्षीय दिनेश तामाङ, काठमाडौं टोखा बस्ने लम्जुङ बेसीसहर गाउँपालिका–११ घर भएका ४० वर्षीय नविन कुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे घर बताउने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन् ।
काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको हाताबाहिर राहदानीको अनलाइन फर्मको कीर्ते गरी सेवाग्राहीहरुबाट रकम लिने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद ४० हजार रुपैयाँ, एक थान कम्प्युटर, एक थान ल्यापटप, एक थान प्रिन्टर र ५० थान कीर्ते गरिएका कागजपत्र समेत प्रहरीले बरामद गरेको छ । उनीहरुविरुद्ध कीर्ते गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
राहदानी बनाइदिने भन्दै ठगी : प्रहरीले राहदानी बनाइदिने भनी सेवाग्राहीसँग ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ठगी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका–५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटालाई बिहीबार पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउन आएका सर्लाही ईश्वरपुरका एक व्यक्तिलाई माघ १८ गते राहदानी बनाइदिने भनी सापकोटाले १२ हजार रुपैयाँ लिएका थिए । सेवाग्राहीसँग उक्त रकम लिएपछि सापकोटा सम्पर्कविहीन भएको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले सापकोटालाई पक्राउ गरेको हो । उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।