काठमाडौं । यस साता सेयरबजार परिसूचक दुई हजार आठ सय ७६ दशमलव ७४ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ३९ दशमलव ६५ विन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ४० हजार छ सय ७० पटकको कारोबारमा पाँच करोड दुई लाख नौ हजार चार सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २६ अर्ब ६६ करोड ५४ लाख ६८ हजार दुई सय १७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले कम हो । गत साता भने धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुसार तीन लाख ८५ हजार ५३ पटकको कारोबारमा पाँच करोड ७५ लाख ८६ हजार छ सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार आठ सय चार रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्यदिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो र तेस्रो दिन सेयरबजार परिसूचक उकालो लागेको थियो भने दोस्रो र पाँचौँ दिन सेयरबजार परिसूचक ओरालो लागेको थियो । चौथो दिन सेयर नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो ।
जसअनुसार पहिलो दिन बजार परिसूचक एक सय पाँच दशमलव ५५ अंकले उकालो लागेर दुई हजार आठ सय ८५ दशमलव ५३ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ८१ अंंकले उकालो लागेर पाँच सय ३८ दशमलव ५३ विन्दुमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक १३ दशमलव ४८ अंकले ओरालो लागेर दुई हजार आठ सय ७२ दशमलव पाँच विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ३९ अंंकले उकालो लागेर पाँच सय ३८ दशमलव ९३ विन्दुमा चढेको थियो । तेस्रो दिन भने बजार परिसूचक १९ दशमलव २९ अंकले उकालोे लागेर दुई हजार आठ सय ९१ दशमलव ३३ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९८ अंंकले उकालो लागेर पाँच सय ४२ दशमलव ९० विन्दुमा चढेकोे थियो । चौथो दिन सार्वजनिक विदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । पाँचौँ दिन भने बजार परिसूचक १४ दशमलव छ अंकले ओरालो लागेर दुई हजार आठ सय ७६ दशमलव ७४ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २५ अंंकले ओरालो लागेर पाँच सय ३९ दशमलव ६५ विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा नबिल, बैंक, नेपाल बंगलादेश बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नबिल बैंक, नेपाल टेलिकम, नेशनल हाइड्रोपावर कम्पनी, नबिल बैंक आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।