काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवा तथा आधिकारिक प्रतिनिधिसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएको छ । यो व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्था स्वयं वा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधि (एजेन्ट) मार्फत समेत शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन् ।
यसरी सञ्चालन गरिएको शाखारहित सेवाको जानकारी राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई दिनुपर्ने परिपत्रमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो संस्थामा खाता भएका ग्राहकहरुलाई संस्था स्वयं वा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधिको सहायताले प्वाइन्ट अफ ट्रान्ज्याक्सन मेसिनको माध्यमबाट कार्ड प्रयोग गरी महानगरपालिका, उपमहानगरपालिकाबाहेकका क्षेत्रमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार यस्तो सेवाअन्तर्गत खातामा रकम जम्मा गर्ने, भुक्तानी प्रदान गर्ने, रकमान्तर गर्ने, ग्राहकको खाताको मौज्दात वा कारोबार विवरण (स्टेटमेन्ट प्रदान गर्ने र स्वीकृत कर्जा रकमको भुक्तानी दिने तथा किस्ता रकम जम्मा गर्नेलगायतका कामहरु गर्न सक्नेछन् ।
शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न सञ्चालक समितिबाट सोसम्बन्धी नीतिगत व्यवस्था पारित गर्नुपर्ने र सोसम्बन्धी प्रक्रियागत व्यवस्था संस्थाले गरिएको हुनुपर्ने परिपत्रमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार शाखारहित बैंकिङ सेवा सुरु गरेको जानकारी राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई दिँदा त्यस्तो जानकारीमा प्राविधिक पूर्वाधारसम्बन्धी विवरण, प्रतिनिधिमार्फत सञ्चालन गर्ने भएमा त्यस्तो प्रतिनिधि छनौटका आधारहरु, छनौट गरिएका प्रतिनिधिसँग हुने सम्झौतापत्र तथा उक्त प्रतिनिधिलाई दिने तालिम तथा अन्य व्यवस्था, शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने स्थानको सुरक्षा र नगदको बीमा सम्बन्धमा भएका व्यवस्था, विद्यमान सञ्चालक साधनको व्यवस्था, शाखारहित बैंकिङ सेवा सञ्चालनको कार्यक्षेत्र र शाखाको विवरण, भुक्तानीसम्बन्धी उत्पन्न विवाद समाधान गर्नेसम्बन्धी प्रावधान, जिम्मेवारी तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्थाहरु र सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रणका लागि अपनाइने व्यवस्थासम्बन्धी समावेश गरेको हुनुपर्नेछ ।
परिपत्रअनुसार इजाजतपत्रप्राप्त संस्थाले बैंकिङ सेवा उपभोग गर्न इच्छुक ग्राहकसँग बैंक तथा वित्तीय संस्थाले लिखित आवेदन लिनुपर्नेछ । गाहकले गरेको प्रत्येक कारोबारको प्रभाव यथाशीघ्र खातामा देखिने गरी अभिलेख सुरक्षित राख्ने र कारोबारको गोपनीयता कायम हुने व्यवस्था गर्नुपर्नेछ । यीबाहेक शाखारहित बैंकिङ सेवासम्बन्धी कारोबार नेपाली रुपैयाँमा मात्र गर्नुपर्ने, ग्राहकलाई स्पष्ट र सरल नेपाली भाषामा सेवा सम्बन्धी जानकारी प्रदान गर्ने व्यस्था गर्नुपर्ने, कारोबार सम्पन्न गरेपछि ग्राहकले स्पष्ट बुझ्ने गरी सोको जानकारी प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने परिपत्रमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार यस्तो कारोबारसम्बन्धी जोखिमको व्यवस्थापन गर्ने दायित्व सम्बन्धित बैंक तथा वित्तीय संस्थाको हुनेछ ।
प्रचलित कानुन, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण तथा राष्ट्र बैंकबाट जारी निर्देशनको अधीनमा रहेर शाखारहित बैंकिङ सेवा सञ्चालन गर्नुपर्ने परिपत्रमा उल्लेख छ । यसैगरी भुक्तानी सेवा प्रदायक संस्थाले नियुक्त गरेको आधिकारिक प्रतिनिधिले नियुक्त गरेको सबएजेन्टले वालेट वा प्रिपेड कार्डजस्ता भुक्तानी उपकरणहरु नगद जम्मा गर्ने वा भुक्तानी गर्ने, ग्राहकले लिएको सेवाको वालेटमार्फत भुक्तानी तथा रकमान्तरको कार्य गर्ने, वालेट वा उपकरण कारोबार विवरण वा मौज्दात प्रदान गर्ने, सरकारी सेवा तथा करको लागि भुक्तानी लिने दिनेलगायतका भुक्तानीसम्बन्धी सेवाहरु प्रदान गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार यी सेवाहरु प्रदान गर्दा ग्राहकहरुसँग अतिरिक्त शुल्क लिन पाइनेछैन । यसका अतिरिक्त आधिकारिक प्रतिनिधि वा सब–एजेन्टको लागि भुक्तानी सेवा प्रदायक संस्थाले तालिम तथा सचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेछ । परिपत्रअनुसार भुक्तानी सेवा प्रदायकले संस्थाले नियुक्त गरेको आधिकारिक प्रतिनिधिले सेवा बन्द गर्न सक्ने अवस्थालाई ध्यानमा राखी सेवाको निरन्तरताको लागि व्यावसायिक निरन्तरता योजना तयार गर्नुपर्नेछ । त्यस्तै आधिकारिक प्रतिनिधिले पनि आफूले नियुक्त गरेको सब–एजेन्टले सेवा बन्द गर्नसक्ने अवस्थालाई ध्यानमा राखी त्यस्तो योजना तयार गर्नुपर्नेछ ।