काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २४ गते अर्थात् आज सोमबार पुनः १४ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही माघ १० गते पनि राष्ट्र बैंकले १० अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति माघ २५ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीमध्ये २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको रहेको छ । सोमध्ये सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी नयाँ र बाँकी सात अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको छ । यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७८ फागुन २४ गते, २०७९ वैशाख २७ गते र २०७९ माघ २४ गते तोकिएको छ ।
यसअघि अर्थात् माघ १० गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।