कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका सात सय ५३ वटै स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्ने बताएका छन् । मंगलबार कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन शिलान्यास गर्ने क्रममा उनले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा लैजाने बताएका हुन् ।
मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढेको उनको भनाइ छ । यस्तै प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँग जोड्नुपर्ने उनले बताए । अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमूनाका रुपमा अघि बढाउन आवश्यक बजेटका लागि आफूले पहल गर्ने उनको भनाइ छ । ‘भौतिक संरचना र जग्गाप्राप्तिका लागि मन्त्रालयको तर्फबाट हुने सहयोग गर्न तयार छु’, उनले भने, ‘अन्यत्र नभएको विषयलाई हामीले ध्यान दिनुपर्छ ।’
मन्त्री पौडेलले तीन वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालयले योजना अघि बढाएको बताउँदै यस वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरी कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । उनले विद्यार्थीका लागि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बताउँदै चारदेखि १२ वर्षका विद्यार्थीका लागि पनि चाँडै खोप व्यवस्थापन हुने जानकारी दिए । यस्तै पढ्दै कमाउँदै कार्यक्रमले सीपलाई श्रमसँग जोड्ने बताउँदै नौदेखि १२ कक्षासम्मका विद्यार्थीलाई समावेश गर्ने उनको भनाइ थियो ।
२०७६ असोज ७ गते आंगिक क्याम्पसको रुपमा सञ्चालन भएको अन्नपूर्ण बहुप्राविधिकको शैक्षिक भवन निर्माणका लागि सरकारले पाँच करोड छुट्याएको छ । निर्माणको ठेक्का पाएको रविना कन्स्ट्रक्सन प्रालिले तीन करोड ८७ लाख २७ हजार ७६ रुपैयाँमा चारतले भवन एक वर्षभित्र बनाउने इन्जिनियर कृष्णप्रसाद शर्माले जानकारी दिए । माछापुच्छ्रे माध्यमिक विद्यालयले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी १४ रोपनी जग्गा ८० करोडमा खरिद गरी बुहप्राविधिक शिक्षालय निर्माणका लागि उपलब्ध गराएको संघीय सांसद दुर्गा विकले बताइन् । अहिले बहुप्राविधिक शिक्षालय घर भाडामा लिएर सञ्चालन भइरहेको छ ।