काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आठ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी २६ करोड रुपैयाँमध्येबाट ३२ दशमलव ६९ प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी आठ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
जारी हुने कुल साधारण सेयरमध्येमा पाँच प्रतिशत अर्थात् ४२ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषको लागि, शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता संस्थामा कार्यरत कर्मचारीहरूको लागि र बाँकी सात लाख ९४ हजार पाँच सय कित्ता सेयर सर्वसाधारणमा बिक्री हुनेछ ।
अधिकृत पुँजी ५० करोड तथा जारी पुँजी २६ करोड रुपैयाँ रहेको संस्थाको हाल चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने संस्थाको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको संस्थाको सेयर बिक्रीकार्य यही फागुन चार गतेबाट खुला भई छिटोमा फागुन आठ गते र ढिलोमा फागुन १८ गते बन्द हुनेछ ।