काठमाडौं । सिरहामा एक हजार भूमिहीन घर–परिवारलाई लालपुर्जा वितरण गरिने भएको छ । बुधबारबाट लालपुर्जा वितरण थालिएको यहाँका भूमिहीन घर–परिवारलाई शुक्रबारसम्ममा लालपुर्जा वितरण गरिसक्ने कार्यक्रम रहेको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बुधबार सिरहाको मिर्चैया नगरपालिका वडा नं. १ र २ (साबिक रामपुर विर्ता र मल्हनियाँ खोरी)का गाउँब्लकमा रहेका भूमिविहीनहरुलाई लालपुर्जा वितरण गरेकी हुन् ।
कार्यक्रममा उनले लालपुर्जा वितरणको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताइन् । मन्त्रालयको प्राथमिकतामा नपरेको गाउँब्लकमा लालपुर्जा वितरण कार्यलाई आफूले मन्त्रालय सम्हालेपछि पहिलो प्राथमिकता बनाएको उनको दाबी छ । मन्त्री श्रेष्ठले २०२१ सालयता नापी हुदाँ गाउँब्लकका रुपमा लामो समयदेखि थन्किएर बसेको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम सुरु गरेको उल्लेख गरिन् । यस वर्षभित्र लालपुर्जा वितरण गरिसक्ने उनको भनाइ छ । मन्त्री श्रेष्ठले सेवाग्राहीलाई सहयोग पुग्ने र छिटो काम हुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिइन् । सिरहामा तीन दिनसम्म एक हजार घर–परिवारलाई लालपुर्जा वितरण गरिसक्ने कार्यक्रम रहेको छ । यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी थिइन् ।
यसैबीच, मन्त्री श्रेष्ठले हरुवा चरुवाको समस्या स्थायी रुपमा नै समाधान गर्ने गरी आफूले काम सुरु गरिसकेको बताइन् । सिरहाको बरियारपट्टीमा हरुवा चरुवा, कमैया कमलरीहरुको अध्ययन गर्न गठित समितिले आयोजना गरेकोे छलफल कार्यक्रममा उनले हरुवा चरुवाका वास्तविक समस्या पहिचान गरी अध्ययन समितिले दिने प्रतिवेदनअनुसार दिगोरुपमा नै समस्या समाधान गर्नेगरी सरकार अघि बढ्ने जानकारी दिइन् । उनले हरुवा चरुवाको रोजगारीको हकको कार्यान्वयनका लागि युवा तथा उनीहरुका सन्तानलाई विशेष नापीको तालिम दिएर रोजगारी दिलाउने प्रक्रिया समेत अगाडि बढाइसकेको उल्लेख गरिन् । यसका लागि बजेटको व्यवस्थापन समेत गरिसकेको उनको भनाइ थियो ।
सिराहामा रहेका हरुवा चरुवाहरुको बस्तीको निरीक्षण समेत गरी मन्त्री श्रेष्ठले विषयवस्तुबारे जानकारी समेत लिएकी छिन् । मन्त्री श्रेष्ठले हरुवा, चरुवा कमैया कमलारीको समस्या समाधान गर्न उनीहरुसँग छलफल गरी पाँच सदस्यीय अध्ययन समिति गठन गरेकी छन् । उक्त अध्ययन समितिले हरुवा, चरुवा, हलिया र कमैया कमलरीहरुको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन सरकरलाई बुझाउनेछ ।