काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारीसाधनहरू फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । बिहीबार महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथबाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको हुलिया निवेदनपश्चात् परिचालन गरेको टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए । उनका अनुसार मोटरासाइकल चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी राखी सूचना संकलन भइरहेको छ ।
मोटरसाइकल चोरीमा संलग्न त्यस्ता व्यक्तिहरूलाई नियन्त्रणमा लिन विशेष अपरेसन टोली खटाएर खोजी गर्ने कार्य समेत भइरहेको उनले बताए । साथै उनले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको भए पनि स्वयं सवारीधनी पनि विशेष चनाखो र सजक हुनुपर्ने बताए । सवारीचालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको समेत प्रयोग गर्न उनले आग्रह गरे ।